हालसम्म १८ सय सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन्।
हालसम्म १ हजार ८१६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएका सरकारले जनाएको छ। जसमध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ सेन्टरमा पुगेका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।
सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा उनीहरुलाई राखेको जनाएको छ।
सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रमलाई तीव्रता दिएको छ।
प्रकाशित: २० वैशाख २०८३ १८:५७ आइतबार



