प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन सबै सांसदहरुलाई आग्रह गरेको थियो । सोहीअनुसार नै सबै राजीतिक दलका सदस्यहरु समयमा सिंहदबार उपस्थित थिए ।
सपथका लागि विभिन्न राजनीतिक दलगत रुपमा तथा विभिन्न जातजाति र वेषभूषा झल्किनेगरी प्रतिनिधिसभा सदस्यहरु उपस्थित भएका थिए । पहिलो पटक सांसद बनेकाहरुसँग कतिपय आफन्त तथा साथीभाइहरु पनि सो सपथ समारोह हेर्नका लागि पनि कैयौँ व्यक्ति आएकाले पनि सिंहदरबारमा ठूलो सङ्ख्याका मानिसको उपस्थिति थियो ।
सिंहदरबारको मूल गेटमा आज भने बिहान १०:०० बजेदेखि नै मानिसहरु भित्र छिर्ने भीड बढेको देखिएको थियो । यअघि जस्तै सिंहदबारका पश्चिम एवं दक्षिण गेटबाट नै आज मानिसहरु प्रवेश गरेका थिए ।
आज परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको बीचबाट संसद् भवन छिर्ने बाटोको प्रबन्ध गरिएको थियो । अपराह्न १:०० बजेपछि संसद् भवन छिर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि भने परराष्ट्र मन्त्रालयको गेट अगाडि नै भीड रोकिएको थियो । सो गेटबाट सीमित सङ्ख्याका फोटो पत्रकार एवं अन्य सञ्चारकर्मीहरुलाई मात्र भित्र प्रवेश दिइएको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
संविधानसभा निर्वाचनबाट ६०१ जना संविधानसभा सदस्य चुनिएर आएपछि सिंहदबारस्थित पुरानो संसद् भवनमा बैठक बस्न नमिल्ने भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो । यसपटक भने सो भवनमा क्षति पुगेकाले अबदेखि संसद् बैठक नवनिर्मित भवनमा सारिएको हो ।
प्रकाशित: १२ चैत्र २०८२ २१:५९ बिहीबार



