नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको वर्तमान सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्दै देउवालाई ‘निवर्तमान सभापति’ नभन्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले देउवाकै अध्यक्षतामा पार्टीको १५औँ महाधिवेशन हुने बताए। उनले पार्टीभित्र देखिएको विवाद र विभाजनको अवस्थाप्रति संकेत गर्दै बाहिरिएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन आह्वान गरे।
“नेपाली कांग्रेसको आजको सभापति पनि शेरबहादुर देउवा नै हो। निवर्तमान सभापति नभन्नु होला,” निधिले भने।
उनले देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन हुने दाबी गरे। पार्टीको आधिकारिक संरचनाबाट बाहिर रहेका नेता तथा कार्यकर्तालाई यही समितिमा फर्किएर जोडिनसमेत उनले आग्रह गरे।
“शेरबहादुर देउवाकै अध्यक्षतामा अब १५औँ महाधिवेशन हुनेछ। यदि कोही साथीहरू बाहिरिनुभएको छ भने यही समितिमा आएर जोडिनु होला,” निधिले भने।
निधिले पार्टीबाट छुट्टिएर बनेको कुनै समूहलाई कांग्रेसको महाधिवेशन गर्ने अधिकार नरहेको जिकिर गरे। कांग्रेसको विधानले पार्टीको मूल संरचनाभन्दा बाहिर रहेका समूहलाई छुट्टै महाधिवेशन गर्ने अधिकार नदिएको उनको भनाइ थियो।
“चोइटिएर जाने कुनै पनि समूहलाई महाधिवेशन गर्ने अधिकार नेपाली कांग्रेसको विधानले दिएको छैन,” निधिले भने।
उनले कांग्रेसलाई थप विभाजित बनाउने गतिविधिभन्दा पार्टीको आधिकारिक संरचनाभित्रै रहेर आन्तरिक समस्या समाधान गर्नुपर्नेमा जोड दिए। पार्टीको विधान र संस्थागत प्रक्रियालाई आधार बनाएर आगामी महाधिवेशनतर्फ अघि बढ्नुपर्ने उनको धारणा थियो।
प्रकाशित: २९ श्रावण २०८३ १८:४९ शुक्रबार
-600x400.jpg)


