राजनीति

‘असली कम्युनिस्टको रूप हराएको रुकुम’

हिजोका सारथी आज प्रतिस्पर्धी

रुकुम पश्चिम पनि १० वर्षे माओवादी द्वन्द्वको आधार इलाकामध्यको एक जिल्ला हो। राज्य पुनर्संरचनाका समयमा रुकुमलाई टुक्राएर रुकुम पूर्व र रुकुम पश्चिम बनाइएको हो। रुकुम पश्चिममा यतिबेला निर्वाचनको रौनक देखिएको छ। यहाँ पूर्वमाओवादीबिच रोचक प्रतिस्पर्धा पनि छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्मा र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माबिचको प्रतिस्पर्धा र टकरावले निर्वाचन सुरक्षामा पनि सन्त्रास छरेको जिल्लाका सुरक्षा अधिकारी बताउँछन्। शर्माद्वय पूर्वमाओवादी हुन्। गोपाल अहिले तत्कालीन माओवादी केन्द्रसहित मिलेर बनेको नेकपामा र जनार्दन नेकपाका संयोजक पुष्पकमल दाहालसँग विद्रोह गरी बनाएको प्रलोपाबाट चुनावी मैदानमा उत्रिएका हुन्। हिजो एकअर्काका सारथी आज प्रतिस्पर्धी बन्दा निर्वाचन रोचक बनेको छ। उनीहरूबिचको टकरावले सुरक्षा समस्या निम्ति हो कि भन्ने त्रास पनि पैदा भएको पछ।

यसैगरी रुकुम पश्चिमबाट उम्मेदवारी दिएका मानबहादुर शाही र चन्द्र बुढा पनि पूर्वमाओवादी नै हुन्। शाही अहिले रास्वपाबाट र बुढा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट चुनावी प्रतिस्पर्धामा छन्। यसैकारण रुकुम पश्चिमको निर्वाचन रोचक र घोचक देखिएको छ।

त्यस्तै रुकुम पश्चिममा आफ्नो गुमेको विरासत फर्काउन नेपाली कांग्रेसले राजु केसीलाई उम्मेदवार बनाएर मैदानमा उतारेको छ। रुकुम कुनै समय कांग्रेसको दबदबा भएको जिल्ला हो। शान्तिप्रक्रियायता कांग्रेसको गुमेको विरासत फर्काउन केसीले पनि ठुलै मेहनत गरिरहेका छन्। राजनीति, समाजसेवा र व्यवसायलाई एकसाथ निरन्तरता दिँदै आएका केसीले अमेरिका, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, सिंगापुरलगायत देश पुगेर विभिन्न विकास तथा व्यावसायिक ज्ञान पनि लिएका छन्।

‘निर्वाचनको माहोल कांग्रेसको पक्षमा आइसकेको छ। यो पटक गुमेको विरासत फर्कन्छ। जिल्ला र जनतालाई आत्मनिर्भर कसरी बनाउने भन्ने भिजन मसँग छ। रुकुमले १० वर्षे आतंक भुलेको छैन। शान्तिका पक्षमा रहने मत पनि मसँर्ग छ’, उनले भने। केसीका अनुसार यतिबेला जिल्लामा माओवादी धार छैन। विगतको माओवादी द्वन्द्वलाई जनताले धोकाका रुपमा बुझेका छन्। हिजो एउटै पार्टीमा भएका ४ जना अहिले फरकफरक दलबाट उम्मेदवार छन्। अब कांग्रेसले गुमेको विरासत फर्काउँछ।’

२०६४ सालपछिका हरेक निर्वाचन जितेका जनार्दन अहिले माओवादी छाडेर बनाएको नयाँ दल प्रलोपामार्फत मतदातामा गइरहेका छन्। जनार्दनलाई हिजो उनको सचिवालयमा रहेर काम गरेका गोपालले काउन्टर दिएका छन्। कम्युनिस्ट धारका मतदाता यतिबेला असली कम्युनिस्ट उम्मेदवार को हो भन्ने अन्योलमा छन्।

माओवादी छाडेर नयाँ दलमार्फत चुनावी मैदानमा हुनुहुन्छ, जित निकाल्न कठिन छैन र भन्ने प्रश्नमा जनार्दनले भने, ‘मैले कुनै दल छोडेको हैन, माओवादी भन्ने नै छैन। त्यो बिघटन भइसक्यो। माओवादी भए पो मैले छाडेको भन्नु।’ विद्रोहको सुरुवातदेखि भूमिगत जीवन बिताएका उनी शान्तिप्रक्रियामा आएयता रुकुमबाट निरन्तर जनप्रतिनिधि छन्। ‘१८ वर्षदेखि निरन्तर जनतासँग छु। जनता र जनार्दनको सम्बन्ध विषेश खालको छ। रुकुमेली जनताले मत जनार्दनलाई हाल्छन् र मैले चुनाव जित्छु।’

उनले रुकुमलाई विभेदपूर्ण बेरोजगारमुक्त बनाउने सपना आफूले देखेको बताए। निर्वाचनमा एमालेको समेत साथ पाएका उनी आफूलाई बलियो उम्मेदवार ठान्छन्। तर उनको अनुमान गलत साबित हुने प्रतिस्पर्धी बताउँछन्। जिल्लालाई बेरोजगारमुक्त बनाउने भने पनि उनी अवैध बाटोबाट अमेरिका पुगेका सयौं रुकुमेलीका बारेमा भने मौन छन्। रुपान्तरणका ठुला कुरा गर्दै आएका उनी स्वयं रुपान्तरण हुन सकेका छैनन्। उनले जिल्लामा भुइँमान्छेका समस्याभन्दा पनि क्रिकेट रंगशाला, पूर्वाधार, मेडिकल कलेजदेखि विमानस्थलसम्मका नयाँ योजना अघि सारेका छन्। पूर्वमाओवादी पृष्ठका चारैजना उम्मेदवार संक्रमणकालीन न्यायलाई प्राथमिकतामा नराखीकनै चुनावी मैदानमा भिडेका छन्।

‘द्वन्द्वको इपिसेन्टरका उम्मेदवार नै शान्तिप्रक्रियाका बाँकी काम भुलेर अगाडि बढेका छन्। सहिदका नाममा केहीको अनुहार बेचे पनि उनीहरू द्वन्द्वका घाइते, बलात्कृत, बेपत्ता, मृतकका सवालमा मौन छन्’, पूर्वमाओवादीका एक जिल्लास्तरीय नेताले भने, ‘यतिबेला रुकुममा असली कम्युनिस्टको रुप हराएको छ।’

भूमिगतकालदेखि सँगै लडेका तथा जनार्दनको सचिवालयमा वर्षांै काम गरेका गोपाल पनि जिल्लामा आफ्नो अवस्था बलियो रहेको दाबी गर्छन्। ‘रुकुम पश्चिममा हाम्रो संगठित मत छ। मतदातालाई कुनै अन्योल छैन। यहाँका मतदाता सचेत छन्। नेता यताउति गर्दैमा मतदाता सर्दैनन्। मेरो मात्रै हैन, हाम्रो पार्टीको अवस्था पनि बलियो छ।’

पूर्वमाओवादी पृष्ठभूमिका उम्मेदवारले घाँटीभरि माला लगाएर टोलटोल घुम्दै गर्दा माओवादी द्वन्द्वका क्रममा मारिएका सयौं नागरिक, बेपत्ता, घाइते, अपांगता भएका, बलातकृत, विस्थापतिहरुको पीडा सम्बोधन गर्ने मौखिक प्रतिबद्धतासमेत नगरेको स्थानीयको गुनासो छ।

प्रकाशित: ८ फाल्गुन २०८२ २१:३६ शुक्रबार