कर्णाली प्रदेशसभामा आज बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी सङ्कल्प प्रस्ताव पास भएको छ ।
प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त सङकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । यो प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहेका थिए । यो प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गरेकी थिइन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि ४० लाख बजेट विनियोजन भएको बताए । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको सङ्कल्प प्रस्ताव सर्वसहमतिले पास भएसँगै सङ्घीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् ।
कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् ।
प्रकाशित: ६ चैत्र २०८२ २०:३२ शुक्रबार