कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले हाल सुरुङभित्र म्यानुअल रूपमा माटो तथा मलबा हटाएर उद्धार कार्य भइरहेको बताएकी छिन्। चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य कठिन भूगोल र सुरुङभित्रको अवस्थाका कारण चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
थप मलबा हटाउन एक्स्काभेटर आवश्यक भएकाले स्याफ्रुदेखि चिलिमे पावर हाउसको पोर्टलसम्म पहुँच सडक निर्माणको काम अघि बढाइएको उनको भनाइ छ। एक्स्काभेटरलाई विद्युत् गृहको पोर्टलसम्म पुर्याउन आजदेखि सडक पहुँच निर्माण तीव्र पारिएको उनले बताएकी छन्।
सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा समेत काम भइरहेको र त्यसका लागि सुरुङभित्र करिब १०० मिटर भागमा रहेको माटो हटाउने काम जारी रहेको मन्त्री गौतमले बताएकी छन्।
उद्धारका लागि थप जनशक्ति तयारी अवस्थामा राखिएको छ। स्याफ्रु बेसमा करिब ३५ जना उद्धारकर्मी तयारी अवस्थामा रहने र आवश्यकताअनुसार उनीहरूलाई उद्धार तथा सहयोगी कार्यमा परिचालन गरिने गौतमले बताएकी छन्।
ठूला हेलिकोप्टर अवतरण गर्न तथा आवश्यक सामग्री र उपकरण पुर्याउन सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत सामग्री तथा उपकरण पुर्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिएकी छन्।
चिलिमे सुरुङमा नेपाली सेना र भारतीय सेनाका १३ जना सुरक्षाकर्मी परिचालन भई सुरुङभित्रको भारी माटो तथा मलबा हातैले हटाउने काम गरिरहेका छन्। करिब २५० मिटर लामो सुरुङमध्ये हालसम्म १०० मिटर भाग सफा गरिएको जनाइएको छ।
प्रकाशित: २० भाद्र २०८३ १६:२३ शनिबार
-600x400.jpg)
-600x400.jpg)

