राजनीति

सुरुङको भित्रको उद्धार जारी छ, रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले सीमित स्रोत र साधनका बाबजुद सुरुङभित्रै प्रवेश गरेर राज्य संयन्त्रले अन्तिमसम्म खोज तथा उद्धार जारी राख्ने बताएका हुन्।

गत भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वस्थित लाङटाङ हिमालको ५,६०० मिटर उचाइबाट खसेको हिमपहिरोले भोटेकोशीमा लेदोसहितको भीषण बाढी ल्याएको थियो। सो बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनाका संरचनाहरू ध्वस्त पार्दा ठूलो संख्यामा कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका थिए।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट भदौ १९ गते २ जनालाई जीवितै उद्धार गरिएको छ भने १ जनाको शव फेला परेको छ।

६ वटा एस्काभेटरले २५ मिटर खनेपछि पत्ता लागेको केबुल सुरुङको मुख खोल्न काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) बाट विस्फोटक पदार्थ र नागढुंगा सुरुङमार्गबाट कम्प्रेसर तथा ड्रिलिङ मेसिन हेलिकप्टरमार्फत पुर्‍याइएको थियो। हाल त्यहाँ थर्मल इमेजिङ र इन्फ्रारेड क्यामराबाट खोजी भइरहेको छ।

त्यसैगरी, रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ र कोरियन विशेषज्ञ टोलीले खोजी गरिरहेका छन्। सुरुङको २०० मिटरभित्र भेटिएको तालमा थर्मल ड्रोन प्रयोग गरिएको थियो। जहाँ भदौ २० गते १ जनालाई जीवितै उद्धार गरिएको छ भने ३ जनाको शव निकालिएको थियो।

बाढीले सर्वाधिक क्षति पुर्‍याएको रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्क्स र अन्डरग्राउन्ड पावरहाउस ध्वस्त भएका छन्।

हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर नेपाली सेना सुरुङको २७५ मिटर भित्रसम्म पुगेको छ। यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा सेना र भारतीय टोलीले ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल पारेर भित्र प्रवेश गर्दा २ वटा शव फेला पारेका थिए।

चिलिमे जलविद्युत् आयोजनामा बबक्याट र अन्य एस्काभेटर प्रयोग गरी सुरुङको ९० मिटर भित्रबाट २ वटा शव निकालिएको छ।

यता नुवाकोटको त्रिशूली ३ ‘बी’ आयोजनामा उद्धार टोली अडिट सुरुङको १.७ किलोमिटर भित्रसम्म प्रवेश गर्दा एउटा गाडी फेला परेको छ। बाढीले पुरेका ६ वटा आवासीय र १ वटा कार्यालय भवन पहिल्याउन १५ मिटर गहिराइसम्म उत्खनन भइरहेको छ।

जोखिमपूर्ण अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारत, चीन र कोरियाका विशेषज्ञ टोली परिचालित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यस घडीमा राज्यले आफ्नो मानवीय दायित्व र जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २२ भाद्र २०८३ २०:१० सोमबार