सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले विपद्पछिको अवस्थालाई देशको आर्थिक रूपान्तरण र विकासको नयाँ प्रस्थानबिन्दु बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले राजनीतिक, संवैधानिक र नेतृत्व परिवर्तन पटक–पटक भए पनि आम नेपालीको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको बताइन्। उनले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनमा देखिने आर्थिक उपलब्धिमा बदल्नुपर्नेमा जोड दिइन्।
उनले लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिन बाध्य रहेको, किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको तथा उद्योगी–व्यवसायीले नीतिगत अनिश्चितता र प्रशासनिक झन्झट बेहोर्नुपरेको बताइन्। सीमित आम्दानी र बढ्दो खर्चको दबाबमा नेपाली परिवार रहेको भन्दै उनले अहिलेको मुख्य प्रश्न शिथिल अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने रहेको बताइन्।
‘भोको पेटलाई कुनै वादले लामो समय निर्देशित गर्न सक्दैन, बेरोजगार हातलाई सिद्धान्तले मात्र आश्वस्त बनाउन सक्दैन र खाली राजनीतिक नाराले मात्र समृद्ध बनाउन सक्दैन,’ उनले भनिन्।
विचार, सिद्धान्त र राजनीतिक दर्शन आवश्यक भए पनि लोकतन्त्रको अन्तिम परीक्षा नागरिकको आर्थिक समृद्धिबाट सुरु हुने अधिकारीको भनाइ थियो। किसानले आफ्नो श्रमको उचित मूल्य पाउने वा नपाउने, युवाले देशमै सम्मानजनक रोजगारी पाउने वा नपाउने, उद्यमी–व्यवसायीले नेपालमा उद्योग तथा व्यवसाय विस्तार गर्न सक्ने वा नसक्ने र परिवारले आफ्ना सन्तानको भविष्य नेपालमै सुरक्षित देख्न सक्ने वा नसक्ने विषय राज्यको सफलताको वास्तविक आधार भएको उनले बताइन्।
उनले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा देखिने आर्थिक रूपान्तरणमा बदल्नुपर्ने बताइन्।
‘हामी सबै फरक–फरक राजनीतिक दलमा छौँ। हाम्रा विचार फरक हुन सक्छन्, सिद्धान्त फरक हुन सक्छन्, राजनीतिक दृष्टिकोण फरक हुन सक्छन्। तर राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, नेपाली जनताको आर्थिक भविष्य, राष्ट्रिय अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको कूटनीतिक हित कुनै दल विशेषको निजी विषय हुन सक्दैन,’ उनले भनिन्।
विगत केही वर्षदेखि शिथिल रहेको नेपालको अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप आघात पुर्याएको पनि अधिकारीले बताइन्। विपद्का कारण जनधनको क्षति हुनुका साथै रणनीतिक सडक तथा उत्तरी नाकातर्फका सडक अवरुद्ध हुँदा आपूर्ति शृंखला प्रभावित भएको उनको भनाइ थियो।
उनले कमजोर आर्थिक आधारमाथि विपद्ले थप दबाब सिर्जना गरेको भन्दै अबको पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय दृष्टिकोणसँग जोड्नुपर्ने बताइन्।
मानव सभ्यतामा समेत ठूलो संकट र विनाशका अवशेषबाट पुनर्जागरणका चरण सुरु भएको उदाहरण दिँदै अधिकारीले नेपालको वर्तमान विपद्लाई संरचनागत सुधार र भविष्य निर्माणको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।
प्रकाशित: १ आश्विन २०८३ १४:२३ बिहीबार

-600x400-wm.jpg)

