राजनीति

रास्वपाको नयाँ अभियान ‘हामी आउँदै छौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद तथा केन्द्रीय सदस्य केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान असोज २० गतेदेखि सञ्चालन गर्ने भएको छ। 

शनिबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। 

अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ।  

रास्वपाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समिति बैठकले अभियानका लागि जिल्ला प्रतिनिधि तोकेको हो। उनका अनुसार असोज २० गतेदेखि सुरु हुने अभियानका लागि पार्टीका नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ।

रास्वपाले सांसद र केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएका जिल्लाको विस्तृत तालिकासमेत तयार गरेको छ। अभियानमार्फत केन्द्रीय तहका नेता प्रत्यक्ष रूपमा जनतामाझ पुग्ने र पार्टीका गतिविधि तथा संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्‍याउने तयारी गरिएको छ। 

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन र मधेस प्रदेश संगठनको अडिट रिपोर्टलगायत विषयमा छलफल भएको छ। 

बैठकले ‘हामी आउँदै छौँ’ अभियानका लागि लिमा अधिकारीदेखि कविन्द्र बुर्लाकोटीसम्मका नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ।  

प्रकाशित: १७ आश्विन २०८३ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App