रसुवाको भोटेकोसी नदीमा आएको भीषण हिमबाढीले मुलुकलाई शोकमा पारेपछि प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो कार्यसूची बदलेर संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्।
प्रधानमन्त्री शाह यही असोज ६ गते १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने तय भएको छ।
भ्रमणलाई कुनै औपचारिकता र लामो कूटनीतिक भेटघाटमा सीमित नराखी प्रधानमन्त्री शाहले केवल चार दिनको छोटो र विशेष मिसन बनाएका छन्। उनी असोज ८ मा महासभालाई सम्बोधन गरेर लगत्तै असोज ९ गते स्वदेश फर्किनेछन्।
प्रधानमन्त्री शाह असोज ६ गते अपराह्न कतारको दोहा हुँदै असोज ७ गते मात्र न्युयोर्क पुग्ने तालिका छ। जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २२ को साँझ विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुन पाउने छैनन्।
भ्रमणको समयावधि छोटो भएकाले कुनै अन्य साइडलाइन द्विपक्षीय वार्ता तय गरिएको छैन। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मात्र विशेष भेटवार्ता गर्नेछन्। भ्रमण दलमा परराष्ट्र सचिव, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्रका अधिकारीहरू तथा निजी सुरक्षाकर्मी रहनेछन्।
यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा मात्रै प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो। तर, भदौ १० गतेको भोटेकोसी बाढीले एक हजारभन्दा बढी नागरिकको ज्यान लिनुका साथै हजारौं बेपत्ता र अर्बौंको क्षति पुर्याएपछि सरकारमाथि राष्ट्रप्रमुखकै तहबाट यो संकट विश्वसामु राख्नुपर्ने चौतर्फी दबाब पर्यो।
जसअनुसार परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २१ मै न्युयोर्क पुगेर २२ तारिखदेखिका मन्त्रीस्तरीय बैठकहरूमा सहभागी हुनेछन् भने प्रधानमन्त्री दुई दिनपछि मात्रै न्युयोर्क पुग्नेछन्। परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २८ मा मात्र स्वदेश फर्किनेछन्।
राष्ट्रसंघको मञ्चमा नेपालले महासचिव एन्टोनियो गुटेरेसको विगतको नेपाल भ्रमणलाई प्रमुख आधार बनाउने रणनीति लिएको छ। सन् २०२३ को अक्टोबरमा नेपाल आएका बेला गुटेरेसले सगरमाथाको आधार शिविर (खुम्बु) र अन्नपूर्ण क्षेत्र पुगेर हिमाल पग्लिरहेको भयानक दृश्य देखेका थिए।
त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्दै संसारलाई हिमनदी पग्लिने पागलपन रोक्न चेतावनी दिएका थिए।
गुटेरेसको त्यो चेतावनीको ठ्याक्कै एक वर्षपछि खुम्बुकै थामे गाउँमा हिमताल विस्फोट भयो भने अहिले भोटेकोसीमा महाविपत्ति निम्तियो। राष्ट्रसंघका महासचिव स्वयंले देखेको यथार्थ हाम्रै आँगनमा विनाश बनेर खसेको प्रमाण पेश गर्दै प्रधानमन्त्री शाहले ‘लस एन्ड ड्यामेज फन्ड’ बाट तत्काल क्षतिपूर्ति पाउनुपर्ने दाबी पेस गर्नेछन्।
नेपालले तिब्बती हिमनदीको जोखिम न्यूनीकरण गर्न चीन र भारतसँग त्रिदेशीय संवादको प्रस्तावसमेत अघि सार्ने तयारी गरेको छ।
यसैबीच, राष्ट्रसंघ महासभाको साइडलाइनमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक नहुने भएको छ।
सार्कको अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बैठकको पहल गरे पनि भारतले सहभागी हुन अनिच्छा देखाएपछि सहमति जुट्न नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारत र पाकिस्तानबीचको तनावका कारण विगत केही वर्षदेखि यो महत्त्वपूर्ण क्षेत्रीय बैठक अवरुद्ध हुँदै आएको छ।
प्रकाशित: २३ भाद्र २०८३ १६:२८ मंगलबार