राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति टोकियो गएका थिए ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुका साथै सम्बोधन गरेका थिए ।
त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र जापानमा रहेका नेपालीहरुको कार्यक्रमलाई पनि राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे ।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
प्रकाशित: २१ माघ २०८२ १८:२८ बुधबार



