नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सबै मिलेर जानुको विकल्प नभएको बताएका छन्। बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले अहिल्यै महाधिवेशनको रडाको गरेर पार्टी एकजुट हुन नसक्ने बताएका हुन्।
महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालक्षित अभिव्यक्ति दिँदै प्रवक्ता महतले ‘अनुहार बदल्ने’ भनेर पार्टीभित्र कसैको त्याग तपस्यालाई अपमान नगर्न पनि चुनौती दिए।
‘अर्को एउटा कुरा आइराख्या छ। अनुहार चाहियो, अनुहार चाहियो,’ प्रवक्ता महतले भने, ‘कुन चाहिँ अनुहार हो जसलाई क्याम्पेनमा पटाइदिऊँ? पहिला पहिला पनि देखेकै हो उप निर्वाचनमा सबैको।’
काेको अनुहारको अनुहार नजानुपर्ने हो नामै किटेर भन्न पनि महामन्त्री द्वयलाई सुझाव दिए। उनले भने, ‘उहाँहरु नै गए पनि कोको नजाने हो तपाईँहरू नजानू भनौँ।’
पार्टी बनाउने काम सबैले मिलेरै गर्नुपर्ने त होला नि? भनेर उनले प्रश्न गरे। ‘सबै मिलेर त गर्ने होला नि? बनाउने र निर्वाचनमा भिड्ने। साँच्चिकै हामी निर्वाचनमा गम्भीर हुने हो भने केन्द्रीय समितिले त्यसको निर्णय गरोस्,’ उनले भने।
कसैलाई महाधिवेशन लम्ब्याउँछन् भन्ने लागेको हो भने कार्य तालिका अहिल्यै नै प्रकाशित गर्न उनले प्रस्ताव गरे।
‘वैशाख–जेठ कहिलेसम्म गर्ने, अहिल्यै क्रियाशील सदस्यता पुस–माघसम्म कहिले सकाउने हो? क्रियाशील पनि हुँदै गर्छ चुनावको अभियानमा मान्छे पनि सक्रिय हुन्छ,’ प्रवक्ता महतले भने। तर, पहिल्यै महाधिवेशन नभई नहुने भन्ने कुरा आफूले नबुझेको उनले बताए।
प्रकाशित: १२ कार्तिक २०८२ १५:३७ बुधबार



