नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रका लागि १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
काठमाडौं ५ को विकास र नीतिगत सुधारलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका रूपमा गरेका कामको निरन्तरता र नयाँ योजनाबारे प्रतिबद्धता जनाएका छन्। पौडेलले चक्रपथको दोस्रो खण्ड विस्तारमा दबाबमार्फत प्रगति भएको, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोरजस्ता रणनीतिक पूर्वाधार आयोजना अघि बढेको उल्लेख गरेका छन्।
शिक्षातर्फ, क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने, स्थानीय मातृभाषा नेवारी र तामाङसहित मौलिक सीप तथा ज्ञानलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने योजना अघि सारेका छन्।
स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्ने र सुविधाको दायरा विस्तार गर्न आवश्यक नीति निर्माणमा पहल गर्ने उल्लेख छ। काठमाडौं–५ लाई ‘मेडिकल हब’का रूपमा विकास गर्दै त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पताललगायत अस्पतालहरूको क्षमता विस्तार गरिने प्रतिबद्धता जनाइएको छ।
व्यवसायमैत्री कानुन निर्माण, झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रिया अन्त्यका लागि नीतिगत सहजीकरण गर्ने प्रतिवद्धता पनि प्रतिज्ञापत्रमा समेटिएको छ। साथै, युवालाई एआई र डिजिटल मार्केटिङजस्ता क्षेत्रमा उच्चस्तरीय तालिम उपलब्ध गराई क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’का रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
भूमिविहीनलाई लालपुर्जा वितरण कार्य तीव्र बनाउने, हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही र अजिमालगायत क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। टोखाको बिस्का नखः, पाँहाचह्रे र हाँडीगाउँको चोखःते नारायणजात्राजस्ता सांस्कृतिक परम्पराको ब्रान्डिङ गरी पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ।
ढल तथा डुबान समस्या समाधानका लागि टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाको व्यवस्थापन तथा ‘स्टोर्म वाटर ड्रेनेज’ प्रणाली लागू गरिने योजना अघि सारिएको छ। साथै, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’का रूपमा विकास गर्न पहल गरिने बताइएको छ।
चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास र फ्लाइओभर निर्माण, सामाखुसी–विष्णुमती करिडोर स्तरोन्नति, विश्वविद्यालयमार्फत अनुसन्धान तथा विकास प्रवर्द्धन, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माण र नेपालमै ‘लार्ज ल्याङ्ग्वेज मोडल’ विकासका लागि पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि प्रतिज्ञापत्रमा समेटिएको छ।
प्रकाशित: ११ फाल्गुन २०८२ १६:२९ सोमबार



