गत बुधबार अर्थात् ठिक एक साताअघि प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहमाथि एउटा आक्षेप लगाएका थिए।
उनले भनेका थिए, ‘प्रधानमन्त्री संसद्मा आउनुहुन्छ, तर कसैको अनुहार नै नहेरी फुत्त जानुहुन्छ, यो के तरिका हो ?’ तर, बुधबार प्रतिनिधि सभाको बैठक कक्षमा भने त्यसको ठ्याक्कै उल्टो र रोचक दृश्य क्यामेरामा कैद भयो।

अघिल्लो साता ‘आफ्नो अनुहार नहेरेको’ भन्दै संसद् तताउने तिनै प्रचण्डले बुधबार भने आफ्नै अगाडि आइपुगेका प्रधानमन्त्री बालेन शाहसँग नजर जुधाउन चाहेनन्, बरु प्रधानमन्त्रीले उनीतर्फ हेर्दा उनी आफैंले मुख फेरे।

बुधबारको बैठक सुरु हुँदा विपक्षी बेन्चको अघिल्लो लहरमा प्रचण्डको कुर्सी खाली थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष समय लिएर बाढीपहिरोबारे सम्बोधन गर्ने कार्यसूची तय भएपछि प्रधानमन्त्री बालेन शाह आफ्ना मन्त्रीहरूसहित संसद् भवन पुगेका थिए।
सदाझैं कालो चस्मा र औपचारिक पोसाकमा सजिएका प्रधानमन्त्री बैठक कक्षभित्र प्रवेश गरिरहँदा केही ढिला गरी प्रचण्ड पनि संसद्मा छिरेका थिए।

त्यसपछि प्रधानमन्त्री लामो समयसम्म बसेनन्। उनी छिट्टै निस्किए। निस्किने क्रममा प्रधानमन्त्री शाहले अघिल्लो लहरमा बसेका प्रचण्डतर्फ हेरेका थिए। तर, संसद्को रोस्ट्रमबाट संवाद र सहकार्यका लागि अनुहार हेर्नुपर्ने पाठ पढाएका प्रचण्डले भने प्रधानमन्त्रीको उपस्थितिलाई पूर्णतः बेवास्ता गर्दै अर्कोतर्फ टाउको घुमाए।

गत बुधबारको बैठकमा भने प्रधानमन्त्री संसद्मा आएर संक्षिप्त धारणा राखी बाहिरिएपछि रुष्ट बनेका प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीले सरकारलाई नै अप्ठ्यारोमा पार्ने चेतावनी दिएका थिए।
त्यतिबेला प्रचण्डले भनेका थिए, ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। उहाँ आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, त्यसका लागि धन्यवाद। तर, उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छन् भन्नेतिर ध्यान गएन। उहाँले आफ्नै दल रास्वपाका सांसदलाई समेत विश्वासमा लिन मेहनत गरेको देख्दिनँ।’
रोस्ट्रमबाट असन्तुष्टि पोख्दै प्रचण्डले अगाडि थपेका थिए, ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ? हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने यो कस्तो कार्यशैली हो ? यसरी त चल्दैन।’
प्रकाशित: २४ भाद्र २०८३ २०:०९ बुधबार



-600x400.jpg)