राजनीति

ओली पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएपछि प्रहरीले माग्यो लिखित पत्र

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने गृहमन्त्री सुधन गुरुङको निर्देशन कार्यान्वयन गर्न प्रहरीले लिखित पत्र माग गरेको छ। मध्यरातिसम्म सुरक्षा संयन्त्रको बैठक चले पनि ठोस निष्कर्ष निस्किएको छैन।

सरकारले लिखित पत्र दिएपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाउने पक्षमा प्रहरी उभिएको छ। गृहमन्त्री गुरुङले शुक्रबार राति प्रधानमन्त्री बालेन्द्र शाहलाई बालुवाटारमा ब्रिफिङ गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर पक्राउका लागि दबाब बढाएका थिए।

प्रहरीले लिखित पत्रको सर्त राखेपछि प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री गुरुङ, गृहसचिव र कानुन सचिवसहित उच्च प्रहरी अधिकारीहरू छलफलमा जुटेका हुन्।

बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र एआईजी गणेश ठाडा मगर सहभागी थिए।

‘हामीले लिखित निर्देशन मागेका छौं, पत्र आएपछि मात्रै पक्राउको प्रक्रिया अघि बढ्छ,’ एक उच्च प्रहरी अधिकारीले नागरिक न्युजसँग भने।

पक्राउको टुंगो नलागे पनि गृहको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ‘हाई अलर्ट’ मा राखिएको छ। सम्भावित परिस्थितिलाई आकलन गर्दै भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाको टोली ओली निवास गुण्डुमा निगरानीका लागि खटिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई टेकेर गृहमन्त्री गुरुङले ओलीलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।

प्रतिवेदनअनुसार पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा पनि तत्काल कारबाही अघि बढाउने सरकारको निर्णय छ।

तर,  सुरक्षाकर्मीको हकमा भने तत्काल कारबाही नगरी छुट्टै अध्ययन समिति बनाउने र उक्त समितिको रायपछि मात्रै थप निर्णय लिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

प्रकाशित: १४ चैत्र २०८२ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App