राजनीति

एकीकृत समाजवादीका मानिसलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन : रावल

नेकपा एमालेबाट निष्कासित भीम रावलले पार्टी छाडेकालाई फर्कन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानमा कुनै सार्थकता नभएको बताएका छन्। 

ओलीको भनाइलाई शब्दजाल र भ्रमको संज्ञा दिँदै रावलले यस्तो बताएका हुन्। उनले विगतका गल्ती तथा कमीहरूमा आत्मालोचना नगरी  शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता नभएको जिकिर गरे।

'विगतमा भएका गल्ती कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले ब्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो,' रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'त्यो केही नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।'

रावलले ओलीले साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबैभन्दा पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्ने उल्लेख गरे।

उनले भने, 'एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने  निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भएपनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्ष अगाडि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो।'

शुक्रबार साँझ ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०८२ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App