राजनीति

ओली निवास निगरानीमा, हेडक्वार्टरमा छलफल, सुरक्षाकर्मी हाइअलर्टमा

गृहमन्त्री सुधन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्दशन दिएपछि सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखिएको हो। ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी प्रधानकार्यालयमा मध्यरातीसम्म छलफल भएपनि निष्कर्ष निस्केको छैन।

ओलीलाई पक्राउ गर्न प्रहरीले लिखित पत्र माग गरेको छ। सरकारले लिखित पत्र दिएपछि मात्रै पक्राउ गर्ने प्रहरीले अडानलिएपछि प्रहरी प्रधानकार्यालयमा गृहमन्त्री गुरुङ, गृहसचिव, कानुन सचिवबीच छलफल चलेको हो।

‘हामीले लिखित मागेका छौं, त्यो आएपछि प्रकृया अघि बढ्छ’, उच्च प्रहरी अधिकारीले भने। उनका अनुसार अहिले गुण्डुस्थित ओली निवासमा नेपाल प्रहरीको एउटा टोली निगरानीको लागि पुगेको छ।

भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाको टोली निगरानीका लागि पठाइएको हो।

प्रहरी प्रधानकार्यालयमा महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी गणेश ठाडा मगरसहित उच्च प्रहरी अधिकारीहरू छलफलमा सहभागी थिए।

यसअघि गृह मन्त्रालयमा दुई आईजीपीसँग जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री गुरुङले छलफल गरेका थिए। तर त्यहाँ कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा छुटेका गृहमन्त्री गुरुङ, गृहसचिव, कानुन सचिव, प्रहरी प्रमुखहरूले छलफल गरेका हुन्।  

त्यसअघि गृहमन्त्री गुरुङले प्रहरी प्रमुखहरूसँग भएको छलफलबारे बालुवाटार पुगेर प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए। बालेन्द्र सहासँग भेटेर बाहिरिएपछि गुरुङ पुनः प्रहरी प्रमुखहरूसँग छलफलमा जुटेका थिए।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। तर सुरक्षाकर्मीको हकमा भने तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

सुरक्षाकर्मीको हकमा भने अध्ययन गर्न समिति बनाउने र उक्त समितिको रायपछि मात्रै थप निर्णय लिने निर्णय भएको थियो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ। 

त्यसकै आधारमा गृहमन्त्रीले प्रहरी प्रमुखलाई पक्राउ गर्न आदेश दिएका थिए।

प्रकाशित: १४ चैत्र २०८२ ००:१८ शनिबार