नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका हिसाबले उच्च जोखिममा रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य जोखिमकै कारण उनको त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनको आइतबारसम्म उच्चरक्तचाप, मधुमहे, मिर्गौलामा पानी जमेको, पित्तथैलीमा पथरी, थाइराइड लगायत समस्या देखिएको अस्पतालले जनाएको छ ।
उपचारका क्रममा ओलीको स्वास्थ्य परीक्षण गर्न सबै टेस्टमा पठाइएकाले रिपोर्ट हेरेपछि स्वास्थ्य अवस्था थप थाहा हुने र पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने या नगर्ने बिषयमा निर्णय हुने अस्पतालका प्रवक्ता तथा न्युरोलोजिष्ट डा. गोपाल सेढाइँले नागरिकलाई बताए । उनले भने, ‘अपरेशन गर्ने या नगर्ने भन्नेबारे पेट सम्बन्धी चिकित्सकले रिपोर्ट हेरेर भोलिमात्र थाहा हुन्छ ।’
तर ओलीको स्वास्थ्यमा उच्च जोखिम देखिएकोले थप सर्तकता अपनाउनु पर्ने देखिएको प्रवक्ता सेढाइँले बताए । विशेष गरी मिर्गौलामा पानी जमेको र पहिल्यै प्रत्यारोपण गरिएको बिरामी भएकोले आजीवन औषधी सेवन गर्नु पर्छ नै । उनमा देखिएका अन्य स्वास्थ्य समस्या पनि जोखिमको सूचक भएकोले जहाँ रहेपनि आइसोलेशनमा राख्नु पर्ने, औषधी र खानपानको विशेष निगरानी हुनुपर्ने सेढाइँले बताए ।
प्रकाशित: १५ चैत्र २०८२ १६:५९ आइतबार