नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अघि सारेका कदमहरू प्रतिगामी तथा स्वतन्त्रताविरोधी रहेको दाबी गर्दै यस्ता गतिविधि लामो समयसम्म टिक्न नसक्ने बताएका छन्।
आइतबार एमाले पार्टी कार्यालयमा सञ्चारमाध्यमका पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले स्वतन्त्रताको पक्षमा आफ्नो पार्टीको संघर्ष निरन्तर जारी रहने बताए।
उनले विगतमा पनि अधिनायकवादी प्रवृत्तिले स्वतन्त्रताको आन्दोलनलाई केही समय अवरुद्ध गरे पनि अन्ततः त्यस्ता शासन व्यवस्था टिक्न नसकेको उल्लेख गरे।
ओलीले राणा र शाही शासनको उदाहरण दिँदै वर्तमानमा देखिएका प्रतिगामी, स्वतन्त्रताविरोधी तथा संकुचित प्रवृत्तिका कदमहरू पनि दीर्घकालीन रूपमा कायम रहन नसक्ने दाबी गरे।
उनका अनुसार स्वतन्त्रताका लागि हुँदै आएको संघर्षलाई थप सशक्त बनाउँदै अघि बढ्न आवश्यक छ।
प्रकाशित: २८ भाद्र २०८३ १५:०५ आइतबार



