राजनीति

एनआरएनएको १२औँ विश्व सम्मेलन सुरु, एकताप्रति पूर्वअध्यक्षहरूको खुशी

गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु भएको छ। सोल्टी होटेल काठमाडौंमा आयोजित कार्यक्रममा बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीहरूको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए। उनले औद्योगिक विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। नेपालको संविधान र कानुनले गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारका रूपमा स्वीकार गरेको भन्दै लगानी र सांस्कृतिक जिम्मेवारी बढाउन उनले आग्रह गरे।

मध्यपूर्वमा देखिएको संकटतर्फ संकेत गर्दै मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार सजग रहेको बताए। संकटको अवस्थामा सहयोगका लागि इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको र श्रमिक तथा परिवारबीच समन्वय गर्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीमा मातृभूमिका लागि योगदान गर्ने भावना बलियो रहेको बताए। उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा प्रवासी नेपालीको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे।

संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनएको एकताप्रति खुशी व्यक्त गर्दै ‘नेपालका लागि नेपाली’ भन्ने नारासहित सुरु भएको अभियानले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। व्यक्तिगत सफलताभन्दा देशको समृद्धि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रवासी नेपालीलाई नेपाल निर्माणको अभियानमा सक्रिय हुन आग्रह गरे।

कार्यकारी अध्यक्ष डा. बद्री केसी ले फुटदेखि एकतासम्मको यात्रामा आफूहरू नेतृत्वमा रहेको भन्दै आगामी दिनमा संघको एकता अझ सुदृढ बनाइने बताए। उनले गैरआवासीय नेपाली नागरिकता, लगानी र कानुनी जटिलतासम्बन्धी विषय चाँडै समाधान गर्न सरकारसँग आग्रह गरे।

यसैगरी पूर्वअध्यक्षहरू विनोद कुँवर, रबिना थापा, आरके शर्मा, जीवा लामिछाने र भवन भट्टले संघको एकताले गैरआवासीय नेपालीको मुद्दा समाधानमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनीहरूले प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा कूटनीतिज्ञ भीम उदासले डायस्पोराको योगदानले भारत र चीनजस्ता देशको विकासमा महत्वपूर्ण भूमिका खेलेको उदाहरण दिँदै नेपालले पनि प्रवासी नेपालीलाई विकासको साझेदार बनाउनुपर्ने धारणा राखे।

विश्वभर छरिएका झण्डै ८० लाख प्रवासी नेपाली को प्रतिनिधित्व गर्ने उद्देश्यसहित आयोजित अधिवेशनले संघको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ २०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App