राजनीति

अब सर्वोच्चको आदेशले फेरि कांग्रेस एकढिक्का हुन्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको वर्तमान विवाद अन्त्य गर्दै कांग्रेस एकढिक्का हुने विश्वास व्यक्त गरेका छन्। पार्टी एकताबद्ध भएपछि अन्य दलसँग सहकार्य गरेर राष्ट्रियताको पक्षमा उभिनुपर्ने उनले बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको इतरपक्षीय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र निरंकुशता स्वीकार्य नहुने स्पष्ट पारे। उनले लोकतान्त्रिक विधि, न्याय र संस्थागत प्रक्रियामार्फत पार्टीका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

कोइरालाले पार्टीसम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णयलाई आफूहरूले स्वीकार गरेको र त्यसपछि पुनरावलोकनको प्रक्रियामा समेत गएको बताए। अहिले सर्वोच्चबाट निस्सा प्राप्त भएकाले न्याय पाउने विश्वास बढेको उनको भनाइ थियो।

“पार्टीबारे सर्वोच्चको निर्णय हामीले स्वीकार गर्‍यौँ। तर स्वीकार्दा स्वीकार्दै पनि हामीले पुनरावलोकन पनि गर्‍यौँ। हामीले अहिले निस्सा पाएका छौँ। न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष हुनुपर्छ,” कोइरालाले भने।

उनले विगतमा पार्टी एकताका लागि भएका प्रयास सफल हुन नसकेको स्मरण गर्दै अब अदालतको अन्तिम निर्णयपछि कांग्रेसलाई एकताबद्ध गर्ने आधार तयार हुने बताए।

कोइरालाले पार्टीभित्र देखिएको मतभेदलाई स्थायी विभाजनमा परिणत हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। कांग्रेस एकढिक्का भएपछि मुलुकका ठूला राजनीतिक र राष्ट्रिय मुद्दामा अन्य दलसँग सहकार्य गर्दै राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ थियो।

“विगतमा एकताको प्रयास सफल भएन। अब अदालतको अन्तिम निर्णयपछि कांग्रेसलाई एकताबद्ध हुने आधार तय हुन्छ,” कोइरालाले बताए।

उनले कांग्रेसको आन्तरिक एकता लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत उल्लेख गरे।

 

प्रकाशित: २९ श्रावण २०८३ १९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App