राजनीति

अब कोही पनि घरविहीन नागरिक नहुने : सांसद खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले अब कोही पनि नागरिक घरविहीन नरहने दाबी गरेका छन्।

सरकारले आवाससम्बन्धी व्यवस्था अघि बढाएको बताउँदै उनले यस्तो दाबी गरेका हुन्। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आवाससम्बन्धी विभिन्न व्यवस्था समेटिएको ऐन दर्ता गराएको जानकारी दिँदै सांसद खनालले भने, 'अब कोही पनि घरविहीन नागरिक नहुने, भौतिक पूर्वाधामन्त्री सुनिल लम्सालले निम्न विषयमा ऐन दर्ता गराउनु भएको छ।'

दर्ता गरिएको ऐनमा पहिलो पटक घर वा गोठ निर्माण गर्ने नागरिकलाई सरकारले तोकेको मापदण्डअनुसार आवश्यक नदीजन्य तथा प्राकृतिक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको उनले बताए।

त्यस्तै, गरिब तथा विपन्न नागरिकका लागि संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। विपद्को जोखिममा रहेका वा असुरक्षित स्थानमा बसोबास गरिरहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि ऐनमा समेटिएको खनालले बताएका छन्।

यसैगरी, २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने भूकम्प प्रतिरोधात्मक स्मार्ट घरहरू सहुलियतपूर्ण ऋण तथा किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८३ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App