राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट भएकाले एउटै कामका लागि विभिन्न निकायबीच दोहोरोपन आवश्यक नरहेको बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारका विभिन्न निकाय, मन्त्रालय, विभाग र संयन्त्रले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए। उनले विपद्का बेला स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको बताए ।
‘सरकारको जिम्मेवारी सरकारले र प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका र स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन,’ उनले भने, ‘स्थानीय तहका वडा अध्यक्षसँग फोनमा कुराकानी हुने, पालिकाका प्रमुखहरूसँग बसेर घण्टौँ गहन छलफल हुने भनेको कामको बाँडफाँट हो।’
लामिछानेले विपद् व्यवस्थापनमा संघीय सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको बताए। वन तथा वातावरण, महिला तथा बालबालिका, गृहलगायत मन्त्रालय र तिनका विभाग तथा संयन्त्रहरू राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काममा जोडिएको उनको भनाइ छ।
उनका अनुसार सरकारले सुरुमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो। त्यसपछि राहत वितरणको काम अघि बढाइएको र अब पुनःस्थापना तथा पुनर्निर्माणको लामो चरण बाँकी रहेको उनले बताए।
‘सरकारले सबैभन्दा पहिला खोजी उद्धारको कार्यमा जोडतोडका साथ तदारुकता देखायो। त्यसपछि राहतको विषयलाई लिएर अहिले काम भइरहेको छ,’ लामिछानेले भने, ‘राहतमा केही कमजोरी अवश्य भएको होला। यसको भौगोलिक जटिलता पनि छ। त्यसका बाबजुद काम भइरहेको छ।’
उनले पुनःस्थापना र पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू सक्रिय रहेको बताए। केही निकाय योजना निर्माणमा र केही फिल्डमै खटिएको उल्लेख गर्दै उनले नीतिगत तथा कार्यान्वयन तहका काम निरन्तर भइरहेको बताए।
लामिछानेले सरकार ‘गुण्डागर्दी शैलीमा चलेको’ र सिंहदरबारबाट नभई ज्वागलबाट चलेको भन्ने आरोपबारे पनि प्रतिक्रिया दिए। उनले सरकार अप्ठ्यारो परेको अवस्थामा सम्बन्धित क्षेत्रमा पुगिरहेको र आफ्ना नीतिअनुसार काम गरिरहेको बताए।
‘सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ। सरकार आफ्ना नीतिहरूमा काम गरिरहेको छ। क्याबिनेटका निर्णयहरू सार्वजनिक भएका छन्, सबै कुरा छँदै छन्,’ उनले भने।
आफ्नै पार्टीका सांसद तथा नेताहरूबाट सरकारको आलोचना हुने गरेको विषयमा लामिछानेले रास्वपाभित्र आन्तरिक लोकतन्त्र बलियो रहेको बताए। पार्टीभित्रका नेताहरूले आफ्नै सरकारको आलोचना गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो।
‘कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कसैले त्यसको लाभ बढी वा कम उठाउँदा आफ्नै सरकारको पनि आलोचना गर्ने गरेका छन्,’ उनले भने।
प्रकाशित: ३१ भाद्र २०८३ १४:३६ बुधबार



