राजनीति

भोटेकोशी बाढीको अध्ययन गर्न गठन हुने संसदीय विशेष समितिमा जुटेन सहमति

रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा अध्ययन गर्न प्रस्तावित संसदीय विशेष समितिको कार्यादेश (टीओआर), संरचना र कार्यावधिबारे दलहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

बिहीबार सत्तारुढ दल रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा सिंहदरबारमा बसेको बैठकमा समितिको आकार, गठन प्रक्रिया, कार्यावधि र जिम्मेवारीका विषयमा छलफल भएको थियो। तर, दलहरूबीच सहमति जुट्न सकेन।

बैठकमा सहभागी एमाले सांसद पद्मा अर्यालका अनुसार समितिको स्वरूप, अवधि र कामबारे विस्तृत छलफल भए पनि आज सहमति हुन सकेन। अर्को बैठकबाट सहमति जुटाउनेबारे छलफल भएको उनले बताइन्।

कांग्रेस सांसद निष्कल राईले भने विशेष समिति सानो आकारको बनाउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार समिति तीन महिनाका लागि गठन गर्ने र आवश्यक परेपछि अवधि थप गर्ने प्रस्ताव गरिएको थियो।

राईले विपद्को विषयमा पक्ष–प्रतिपक्षभन्दा माथि उठेर सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनका अनुसार कांग्रेसले पाँच जना र अन्य पक्षबाट एक जनाको प्रतिनिधित्व हुने गरी समिति गठन गर्न प्रस्ताव गरेको थियो।

तर, रास्वपाले भने संसद्मा दलहरूको संख्यात्मक उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति बन्न नसकेको राईले बताए।

समितिको संयोजक तथा सभापतिको विषयमा समेत सहमति जुट्न बाँकी छ। दलहरूबीच बाँकी विषयमा छलफल गरी आगामी बैठकबाट समितिको संरचना र टीओआर टुङ्ग्याउने तयारी गरिएको छ।

प्रकाशित: १ आश्विन २०८३ १३:५३ बिहीबार