आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि भिडन्तमा २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निकै खराब सुरुवात गरेको छ।
अहमदाबादमा जारी फाइनल खेलमा जवाफी ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पावरप्लेको खेल सकिँदा ३ विकेट गुमाएर ५२ रन मात्र बनाएको छ।
विशाल लक्ष्य पछ्याउने क्रममा सुरुवाती दबाबमा परेको न्युजिल्यान्डले लगातार विकेट गुमाएको छ। ओपनर फिन एलेन ९ रन बनाएर अक्षर पटेलको बलमा क्याच आउट भएका छन्।
त्यसलगत्तै रचिन रविन्द्र मात्र १ रन जोडेर जसप्रित बुमराहको सिकार बने। आक्रामक ब्याटर मानिने ग्लेन फिलिप्स पनि ५ रनमै पटेलबाट बोल्ड आउट भएपछि न्युजिल्यान्ड थप संकटमा परेको छ।
क्रिजमा टिकिरहेका अर्का ओपनर टिम सेइफर्टले भने केही आक्रामक खेल्दै १९ बलमा २ चौका र ३ छक्कासहित अविजित ३५ रन जोडेका छन्। उनलाई मार्क च्यापम्यानले १ रन बनाएर साथ दिइरहेका छन्।
घरेलु टोली भारतका बलरहरूले सुरुवातदेखि नै कसिलो बलिङ गर्दै न्युजिल्यान्डका ब्याटरलाई चरम दबाबमा राखेका छन्।
स्पिनर अक्षर पटेलले आफ्नो २ ओभरमा १८ रन मात्र खर्चिएर २ महत्त्वपूर्ण विकेट लिएका छन्। त्यसैगरी, तीव्र गतिका बलर जसप्रित बुमराहले २ ओभरमा मात्र ९ रन दिएर १ विकेट लिएका छन्।
अर्का बलर अर्शदीप सिंहले १ ओभरमा ३ रन मात्र दिएका छन् भने हार्दिक पाण्ड्या केही महँगा साबित हुँदै आफ्नो १ ओभरमै २१ रन खर्चिएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ २२:०० आइतबार



