रसुवाको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सुरुङको माथिल्लो भागबाट ड्रिल गरेर प्रवेश गर्ने विकल्पमा समेत काम अघि बढाएको छ।
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा उद्धारका लागि सम्भावित सबै उपाय प्रयोग भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार सुरुङभित्र प्रत्यक्ष प्रवेश गर्न कठिन भएपछि माथिबाट खनेर सुरुङसम्म पुग्न सकिन्छ कि भन्ने विषयमा प्राविधिक टोलीले प्रयास गरिरहेको छ।
‘अझै पनि हामीले आशा मारेका छैनौं,’ गृहमन्त्री गुरुङले भने। उद्धारको सम्भावना कायम रहेकाले राज्यका सबै संयन्त्र परिचालन गरेर प्रयास जारी राखिएको उनको भनाइ छ।
बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका संरचना पुरिँदा उद्धारमा चुनौती देखिएको छ। सुरुङभित्रको अवस्था पहिचान गरी फसेका व्यक्तिसम्म पुग्न विभिन्न विकल्पबाट काम भइरहेको सरकारले जनाएको छ।
गृहमन्त्री गुरुङले माथिबाट ड्रिल गर्ने नयाँ विकल्पसमेत अघि बढाइएको बताउँदै उद्धारको सम्भावना रहेसम्म प्रयास नछाडिने स्पष्ट पारे।
यसअघि सुरुङभित्र प्रवेश गरेर खोजी गर्ने प्रयास गरिए पनि केही स्थानमा सुरुङ पूर्ण रूपमा पुरिएको तथा पानी र भग्नावशेषका कारण उद्धार टोलीलाई थप अघि बढ्न कठिनाइ भएको थियो।
सरकारले अहिले सुरुङको भित्री भागमा फसेका व्यक्तिको अवस्थाबारे यकिन गर्न तथा सम्भावित सबै पहुँचमार्ग पहिचान गरी उद्धारलाई निरन्तरता दिने जनाएको छ।
यसैबीच त्रिशूली थ्री बीको कार्यालय र आवास गृहमा फसेका ४३ जनाको भने अझै उद्धार हुन सकेको छैन। बाढी गएकाे सात दिन पूरा हुँदा समेत सरकारले घरसमेत पत्ता लगाउन सकेको छैन। सीमित संख्यामा जनशक्ति र सानो एक्साभेटरको मात्रै प्रयोग भएपछि आफन्तहरु आक्रोशित बनेका छन्। उनीहरुले सरकारले ४३ जना नागरिकलाई गैरनागरिक सरह व्यवहार गरेको भन्दै तत्काल प्रभाकारी उद्दारका लागि आग्रह गरेका छन्।
प्रकाशित: १६ भाद्र २०८३ १९:०१ मंगलबार



