राजनीति

कांग्रेस महामन्त्री घिमिरेका ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनलाई  लक्षित गर्दै मोरङ क्षेत्र नं ४ का नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरी घिमिरेले उक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। 

घिमिरेले मुख्य गरी यस क्षेत्रका चार वटा विकासका आयोजनालाई प्राथमिकतामा राखेका छन्। जसमा विराटनगर–१९ स्थित वैजनाथपुर रंगशालाको निर्माण, सुनसरीको खनारदेखि मोरङको केरौन सम्मको सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरको एम भागमा रहेको सडक कालोपत्रे गर्ने, बेलबारी नगरपालिका ५ स्थित धनपाल गढी र कटहरी ७ स्थित बाबा वनस्खण्डी मन्दिर क्षेत्रलाई गुरुयोजना बनाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने रहेको छ। यस्तै मोरङको ग्रामथान गाउँपालिका–५ स्थित तेतरियाको ग्रामथानलाई (सरियाधामी) थारु जातिको संग्राहालयका रूपमा विकास गर्ने उल्लेख छ। यस्तै  सार्वजनिक प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, युवा रोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई  पनि प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्रतर्फ सामुदायिक तथा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार गर्दै सूचना–प्रविधिमैत्री शिक्षा प्रणाली लागू गरिने प्रतिबद्धता गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिइने बताइएको छ। विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

पूर्वाधार विकासअन्तर्गत कच्ची सडकलाई कालोपत्रे गर्ने, आवश्यक स्थानमा पक्की पुल, कल्भर्ट, नाला तथा ढल निर्माण गर्ने योजना समेटिएको छ। वर्षायाममा देखिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण तथा जलनिकास व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ। बजार क्षेत्रको ट्राफिक व्यवस्थापन, पार्किङ स्थल निर्माण तथा फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि गरिएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई आवश्यक मल, बीउबिजन तथा सिँचाइ सुविधा सहज रूपमा उपलब्ध गराइने उल्लेख छ। कृषि उत्पादनको संरक्षण र बजारीकरणका लागि आवश्यक संरचना निर्माण गरिने तथा किसानलाई आधुनिक प्रविधि प्रयोगमा प्रोत्साहित गरिने बताइएको छ। युवा तथा रोजगारीतर्फ बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ। युवालाई बिना धितो सहुलियत ऋण उपलब्ध गराई उद्यमशीलता विकासमा जोड दिइने उल्लेख गरिएको छ। सहकारी तथा वित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रणका लागि पहल गरिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य संस्थाको स्तरोन्नति, आवश्यक औषधि तथा उपकरणको व्यवस्था र सेवा विस्तार गरिनेछ। 

महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। विपन्न परिवारलाई नि:शुल्क विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालन गरी वातावरण संरक्षणमा टेवा पुर्‍याइने योजना छ। सिटी रिक्सा चालकलाई संगठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराइने तथा धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र प्रवर्द्धन गरिने जनाइएको छ। विराटनगर विमानस्थल स्तरोन्नति गरी क्षेत्रीय स्तरको सेवा विस्तार गर्ने योजनालाई पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। 

प्रकाशित: १२ फाल्गुन २०८२ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App