धनुषा निर्वाचन क्षेत्र नम्बर-१ को अन्तिम मतपरिणाम घोषणा नगर्न सर्वोच्च अदालतले आदेश दिएको अवस्थामा पनि निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेजी प्रकरणले मतपरिणाम विवादित बनिरहेकै बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेको हो।
सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार नेकपाका यादवले १० हजार ४ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५ सय २ र नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३ सय १५ मत प्राप्त गरेका छन्।
तर, यी सबै उम्मेदवारले पाएको मतभन्दा १३ हजार बढी मत रास्वपाको चुनाव चिह्न ‘घन्टी’ मा खसेको छ। उम्मेदवारी खारेजीमा परेका कारण रास्वपाका साहले प्राप्त गरेको मतको आधिकारिक परिणाम भने सार्वजनिक गरिएको छैन।
यसअघि गत फागुन १८ गते निर्वाचन आयोगले रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगको उक्त कदम गैरकानुनी भएको दाबी गर्दै साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल धनुषा–१ को अन्तिम मतपरिणाम सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
प्रकाशित: २५ फाल्गुन २०८२ २१:५६ सोमबार