राजनीति

मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद गुप्तालाई ५०० जरिवाना

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि रास्वपाका सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

सामाजिक सञ्जालमामा सांसद गुप्ताको भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालय, लहानले उनलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो।

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा गुप्ताको आलोचना भएको थियो। उनले पछि एक स्ट्याटस लेख्दै माफि मागेका थिए।

‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु’, गुप्ताले लेखेका छन्।

यस्तै, उनले यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता जनाएका थिए।

यसअघि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङ र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि कारबाही गरेको थियो।

प्रकाशित: ८ श्रावण २०८३ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App