प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटाले सञ्चारकर्मी सूरज सिंह ठकुरीले अस्पतालको आईसीयूमा पुगेर बिरामीको अन्तर्वार्ता लिएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणजस्ता संवेदनशील विषयलाई बेवास्ता गर्दै अन्तर्वार्ता लिइएको भन्दै प्रश्न उठाएकी हुन्।
उनले उक्त घटनाले सञ्चारकर्मी वा स्वास्थ्यकर्मीको मात्र नभई आम नागरिकको स्वास्थ्यप्रतिको संवेदनशीलतामाथि समेत प्रश्न खडा गरेको बताइन्।
‘यहाँ एउटा यस्तो विषय उठान गर्न चाहन्छु, जसले हाम्रो संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ। त्यो प्रश्न केवल मिडियाकर्मी, स्वास्थ्यकर्मी या सञ्चार जगत मात्र होइन, आम मानिसको स्वास्थ्यस्थितिप्रति हाम्रो बुझाइ के छ भन्ने विषयको संवेदनशीलतामाथि पनि प्रश्न गर्छ,’ उनले भनिन्।
आईसीयू अस्पतालमा अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उल्लेख गर्दै उनले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने बताइन्।
परिवारका सदस्यलाई समेत निश्चित समय र निर्धारित प्रोटोकलअनुसार मात्रै बिरामी भेट्न दिइने अवस्थामा आईसीयूमै पुगेर अन्तर्वार्ता लिने वा त्यसका लागि अनुमति दिने अभ्यास कति नैतिक र व्यावसायिक हो भन्ने प्रश्न उनले उठाइन्।
‘अस्पतालमा उपचाररत बिरामीलाई अझ आईसीयूमै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति इथिकल प्राक्टिस हो? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो?’ उनले प्रश्न गरिन्।
सांसद बास्कोटाले विपद्का बेला उद्धार तथा उपचारका क्रममा स्वास्थ्य पत्रकारिताको संवेदनशीलता झनै महत्वपूर्ण हुने भन्दै विशेषगरी गम्भीर अवस्थामा रहेका बिरामीको स्वास्थ्य, गोपनीयता र सम्मानलाई ध्यानमा राखेर सञ्चारमाध्यम तथा स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइन्।
उनले विपद्का क्रममा सुरुङबाट उद्धार गरेर ल्याइएका व्यक्तिलगायत गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेका बेला उनीहरूको स्वास्थ्य अवस्थालाई सार्वजनिक प्रदर्शनको विषय बनाउन नहुने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराइन्।
प्रकाशित: ३० भाद्र २०८३ १३:४२ मंगलबार



