राजनीति

मानव अधिकार आयोगका ५२ प्रतिशत बढी सिफारिस कार्यान्वयन भएनन् : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका ५२ दशमलव ६० प्रतिशतभन्दा बढी सिफारिस सरकारले कार्यान्वयन नगरेको बताएका छन्। 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगमा स्थापनाकालदेखि हालसम्म करिब १४ हजार उजुरी तथा मुद्दा आएको जानकारी दिए। तीमध्ये करिब ८० प्रतिशत द्वन्द्वकालीन मुद्दा रहेको उनको भनाइ छ। 

अध्यक्ष मगरका अनुसार आयोगका सिफारिसमध्ये हालसम्म १३ दशमलव ९ प्रतिशत मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन्। त्यस्तै ३४ दशमलव १२ प्रतिशत सिफारिस आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२ दशमलव ६० प्रतिशत सिफारिस पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी छन्। 

प्रधानमन्त्री तथा सम्बन्धित निकायका प्रमुखहरूसँग भेटेर आयोगले सरकारलाई पटक–पटक सिफारिस कार्यान्वयन गर्न आग्रह गर्दै आएको उनले बताए। 

सरकारले सिफारिस कार्यान्वयन गर्ने र आवश्यक परे पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा क्षतिपूर्ति उपलब्ध गराउने कामसमेत प्रभावकारी रूपमा हुन नसकेको अध्यक्ष मगरले बताए। 

मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नहुँदा पीडितले न्याय पाउने प्रक्रिया लामो बन्दै गएको भन्दै सरकारले  गम्भीरतापूर्वक लिएर तत्काल कार्यान्वयन गर्न अनुरोध गरेका छन्।  

प्रकाशित: २९ श्रावण २०८३ १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App