नेपाली कांग्रेसका सात नेताहरूको बैठक सकिएको छ। सोमबार (आज) दिउँसो चाक्सीबारीमा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भएको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।
सरकारका काम कारबाहीका बारेमा पनि छलफल भएको उनले बताए। 'देशको समसामयिक तथा राजनीतिक विषयमा छलफल गर्यौँ। हाम्रो मान्यता के छ भने सरकारले प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्न सक्नुपर्छ। कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने प्रकाशमान सिंहजीलाई हामीले भनेका छौँ, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा गर्नुहुन्छ। गठबन्धनको धारणाअनुसार काम गर्न सक्नुपर्छ,' सिटौलाले भने।
उनले संविधान संशोधनको विषयबारे पनि छलफल भएको बताए। 'एमाले अध्यक्ष केपी ओलीजी र हाम्रो बीच सहमति भएको कुरा छ। संविधान संशोधनको कुरा छ। त्यसका लागि पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, सरकारले पनि त्यही काम गर्नुपर्छ,' उनले भने।
छलफल भएका विषयबारे पार्टी सभापति शेरबहादर देउवालाई जानकारी गराउने उनले बताए। 'जति पनि छलफल भए, त्यसबारे हामीले भोलि नै पार्टी सभापतिजीलाई जानकारी गराउँछौँ,' उनले भने।
प्रकाशित: ५ श्रावण २०८२ १६:४६ सोमबार



