नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि संस्थापन इतर समूहका नेता डा. शशाङ्क कोइरालाले संवाद र वार्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
चुनदेवीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसलाई विभाजनतर्फ जान नदिई एकताबद्ध बनाएर अघि बढाउने आफ्नो पक्षको उद्देश्य रहेको स्पष्ट पारे । उनका अनुसार पार्टीभित्र देखिएका मतभेद समाधान गर्ने प्रभावकारी बाटो वार्ता नै हो ।
कोइरालाले आगामी १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई मुलुकको राजनीतिक दिशाका दृष्टिले समेत महत्त्वपूर्ण हुने बताए । त्यसैले महाधिवेशनअघि सबै पक्षबीच समझदारी आवश्यक रहेको उनको भनाइ छ ।
संस्थापन पक्षले इतर समूहका अधिकांश माग सम्बोधन भइसकेको दाबी गरिरहेका बेला कोइरालाले भने दुवै पक्षले एकअर्काको धारणा सुन्नुपर्नेमा जोड दिए । आफूहरूले पटक–पटक संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै आएको उनले बताए ।
पूर्वसभापति शेरबहादुर देउवा, सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मासँग समेत छलफलका लागि आग्रह गरिएको उनले जानकारी दिए । देउवासँग भेटका लागि समय नपाएको विषयमा उनले देउवा व्यस्त भएकाले समय नमिलेको हुनसक्ने भन्दै संवादको ढोका बन्द नभएको स्पष्ट पारे ।
‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । वार्ता बाहेक समाधानको अर्को बाटो छैन,’ कोइरालाले भने ।
कांग्रेसको भविष्य सुरक्षित गर्नु सबै नेताको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले आन्तरिक विवादलाई लम्ब्याउनुभन्दा सहमति खोजेर महाधिवेशनमा सहभागी हुनुपर्ने बताए । कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर अघि बढाउन आफूहरू निरन्तर संवादका लागि तयार रहेको उनको भनाइ छ ।
प्रकाशित: २९ भाद्र २०८३ १७:४४ सोमबार