राजनीति

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँग पत्रकार महासंघको असहमति

नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले असहमति जनाएको छ। बिहीबार महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयविरुद्ध असहमति जनाएका छन्। 

‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबार देखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउँदछ।’ 

कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको महासंघ ठहर गरेको छ। 

‘महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ। तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार गर्दैन,’ विज्ञप्तिमा भनिएको छ। 

नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघले माग गरेको छ। 

प्रकाशित: १९ भाद्र २०८२ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App