राजनीति

आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न निर्देशन

निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएका छन्।

शुक्रबार विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले यस्तो निर्देशन दिएका हुन्। भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने विषय निर्वाचनको स्वच्छ प्रतिष्पर्धासँग पनि जोडिएको बताए। 

‘निर्वाचन आचारसंहिताको पालनाबिना निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाको वातावरण तयार हुन नसक्ने भएकाले निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए थलैमा कारबाही गर्नुहोस्,’ उनले भने।

भण्डारीले निर्वाचन आयोगमा देशभरबाट आचारसंहिता उल्लंघनका उजुरी दिनहुँ आउने गरेको बताए। उनले निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए तत्कालै थलैमा कारबाही गर्न जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई पूर्ण अधिकार रहेको स्पष्ट पारे। निर्वाचन आचारसंहिता पालना नभए लय बिग्रने भएकाले देशलाई लयमा राख्न, निर्वाचनको वातावरण बनाउन सबै पक्षले निर्वाचन आचारसंहिता पालना गर्न जरुरी रहेको भण्डारीको भनाइ छ।

भदौ २३ र २४ को घटनापछि नेपाली समाज आक्रोशित र विद्रोही भएको भण्डारीले बताए। उनले आक्रोश र विद्रोहलाई शान्त पार्न पनि आकस्मिक रूपमा निर्वाचन गर्नुपरेको बताए। भण्डारीले निर्वाचनपछि संविधान लयमा आउने भएकाले अहिलेको निर्वाचन व्यवस्था जोगाउने, संविधान जोगाउने र देशलाई लयमा ल्याउने आधार पनि भएको टिप्पणी गरे।

भण्डारीले निर्वाचनको सबै तयारी पूरा भइसकेकाले अब मतदान गर्ने, मतगणना गर्ने लगायतका काम मात्रै बाँकी रहेको दाबी गरे।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले निर्वाचनका लागि कोशी प्रदेशको सुरक्षा व्यवस्था सुदृढ रहेको बताए। उनले फागुन २१ गतेको निर्वाचनमा कुनै अप्रीय घटना हुने अवस्था कोशी प्रदेशमा नरहेको स्पष्ट पारे।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्वाचन सफल बनाउन र आचारसंहिता पालना गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा पूर्वकानुन सचिव फणिन्द्र गौतम र निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले कार्यपत्रहरू प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ फाल्गुन २०८२ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App