राजनीति

प्रधानमन्त्रीको बचाउमा विपिनले भने- ‘नियम ५६ प्रयोग नगरी संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारी’

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिको बचाउ गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरूले संसदीय नियमको कानुनी बाटो प्रयोग नगरी बाध्यात्मक रूपमा संसद् अवरुद्ध गराएको भन्दै आलोचना गरे।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने भन्दै विपक्षीले गरिरहेको विरोधप्रति लक्षित गर्दै आचार्यले यस्तो धारणा राखेका हुन्।

उनले विपक्षी दलका सांसदहरूलाई ‘प्रतिनिधिसभा नियमावलीको नियम ५६’ को स्मरण गराउँदै सिधा प्रश्न गर्ने बाटो छलेर संसद् स्थगित गराउने खेलमा लागेको आरोप लगाए।

‘स्थापित विधि र प्रक्रिया सधैं माथि हुन्छन्,’ बैठकलाई सम्बोधन गर्दै आचार्यले भने, ‘नियमावलीको नियम ५६ मा टेकेर प्रधानमन्त्रीज्यूलाई संसद्‌मै सिधा प्रश्न गर्न पाउने कानुनी बाटो छ भन्ने विपक्षी दलका माननीय सदस्यहरूलाई थाहा हुनुपर्छ। तर, त्यो प्रयोग नगरी विधिभन्दा बाहिर गएर संसद् नै स्थगित गराउने बाध्यात्मक परिस्थिति सिर्जना गर्ने गतिविधिले विपक्षी दल सार्वभौम संसद् र जनताप्रति उत्तरदायी हुनुहुन्छ भन्ने प्रमाणित गर्‍यो त ?’

संसद्‌मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर भइरहेको आलोचनालाई उनले दृष्टिकोणको भिन्नताका रूपमा अर्थ्याए। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्‌मा लगाउनुभएको स्पोर्ट्स जुत्ता कसैलाई कुल ट्रेन्ड लाग्न सक्छ भने कसैलाई संसदीय मूल्यमान्यताप्रतिको ठाडो प्रहार,’ आचार्यले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्छ र यो संसद्को परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई उहाँ नआउनु परम्पराको क्रमभङ्गता।’

नीति र नियमको कुरा गरिरहँदा त्यसको कार्यान्वयन गर्ने नियत प्रधान हुने आचार्यको भनाइ थियो। उनले नीतिको सही पालना नियतमा जोडिएको हुने स्पष्ट पार्दै समग्र देशको नीति तथा कार्यक्रम सफल बनाउन सत्तापक्ष र प्रतिपक्ष लगायत सबैको नियत सही हुनुपर्नेमा जोड दिए।

विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा उपस्थित नभएको र नीति तथा कार्यक्रममाथिको अपनत्व नलिएको भन्दै संसद्‌मा निरन्तर असन्तुष्टि पोख्दै आएका छन्।

प्रकाशित: ३१ वैशाख २०८३ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App