नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्दै बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री साहले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको मुख्य दायित्व भएको बताए।
‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति उपलब्ध गराउनैपर्छ,’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ’यसबारे सम्बन्धित पक्षहरूसँग छलफल गरेर हामी तत्काल आवश्यक कदम चाल्नेछौं।’
मन्त्री साहले ग्यास आपूर्ति सहज बनाउन निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग समेत परामर्श गरेर अघि बढ्ने बताए। ‘कुनै काम सुरु गर्नुअघि विगतमा त्यससम्बन्धमा के-के भइरहेको थियो भन्ने जानकारी लिएर अघि बढ्दा मात्रै सही नतिजा निकाल्न सकिन्छ,’ उनको भनाइ थियो।
खाना पकाउने ग्यासको विषयमा विवाद उत्पन्न भएपछि तत्कालीन मन्त्री गौरीकुमारीले आजै पदबाट राजीनामा दिएकी थिइन्। त्यसलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रकाशित: २५ भाद्र २०८३ २१:१६ बिहीबार