राजनीति

मेरो पनि छोराछोरी छैन, सायद समयमै बिहे नगरेर होला : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई समयमै बिहे गर्नका लागि सुझाव दिएका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन्।

‘२० वर्षपछि बिहे गर्ने उमेर खोल्द्या छ सरकारले। मैले अस्ति युथहरूको कार्यक्रम भएको थियो याक एन्ड यतीमा, मैले भनेको थिएँ, २० वर्षपछि बिहे गरिहाल्ने अनि ३० वर्षभित्र तीन्टा सन्तान बनाउने भनेर,’ उनले भने।

उनले आफ्नो पनि छोराछोरी नभएको बताए। बिहे ढिलो गरेकैले त्यस्तो हुनसक्ने उनले अनुमानसमेत गरे।  ‘मेरो पनि छोराछारी छैन। मैले त सायद समयमै बिहे नगरे पनि होला। फेरि छोराछोरी किन भएन, थाहा पनि छैन। पहिले जचाइएन पनि, केही पनि भएन। किन भने थाहा पनि भएन,’ उनले भनेका छन्।

उनले सन्तान जन्माउन नसक्ने गरी व्यस्त पनि नहुन आग्रह गरेका छन्। ‘हामी यति व्यस्त हुन हुँदैन, जसले सन्तान, उत्तराधिकारी जन्माउने; हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ। एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्त नियुक्त गर्नुपर्छ। सचिव प्रोमोसन हुनेबित्तिकै सहसचिवलाई फेरि सचिवमा बढुवा गर्नुपर्छ, पर्दैन ? रिक्त हुनेबित्तिकै फेरि लोकसेवा चाहिन्छ। अनि उत्तराधिकारी चाहिँ हरेक ठाउँमा चाहिने, घरैमा उत्तराधिकारी छैन। त्यसो भएर पहिलो कुरा त मानवीय अस्थित्व र सृष्टिको लागि; यो सानो कुरा होइन, डेमोग्राफिक इस्यू, सर्वाधिक महत्त्वको विषय हो,’ उनले भनेका छन्।

प्रकाशित: २७ असार २०८२ १७:४३ शुक्रबार

#NagarikNews #kpsharmaoli