राजनीति

बाढीपीडितको उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर : सांसद बोहरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले बाढीका कारण बेपत्ता नागरिकको खोजी तथा प्रभावितलाई राहत उपलब्ध गराउने काममा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बोहराले सरकारी तथ्याङ्कअनुसार रसुवामा मात्रै ५ हजार १३० जना अझै बेपत्ता रहेको दाबी गरे। आफ्नो जिल्ला कञ्चनपुरमा २६ जना तथा कञ्चनपुर–२ निर्वाचन क्षेत्रमा १४ जना बेपत्ता रहेको उनले जानकारी दिए।

पछिल्ला केही दिन आफू निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकको घरघरमा पुगेको उल्लेख गर्दै बोहराले सर्वसाधारणको अवस्था निकै दयनीय रहेको बताए।

प्रहरी र नेपाली सेनाका कर्मचारीको हकमा सम्बन्धित संगठनले परिवारको जिम्मेवारी लिने आश्वासन दिए पनि सर्वसाधारण प्रभावित परिवारसम्म सरकारको प्रभावकारी उपस्थिति पुग्न नसकेको उनको आरोप थियो।

“सर्वसाधारणको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेको छैन। प्रशासनले पालिकाका कर्मचारी पुगे होलान् भन्छ, पालिका प्रमुखले सरकार आउँछ भन्छन्। कोही पनि छैन,” उनले भने।

बाढीबाट प्रभावित परिवारको वास्तविक अवस्था देखाउन उनले कञ्चनपुरको शुक्लाफाँटा–३, जोनापुरकी सुनिता डगौराको उदाहरणसमेत प्रस्तुत गरे। दुवै मिर्गौला फेल भएकी डगौराका छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोबाट बेपत्ता रहेको उनले बताए।

औषधि किन्ने व्यक्ति नभएको, बिहान–बेलुकाको छाक टार्नसमेत समस्या भएको र खानेकुराको व्यवस्था नभएको भन्दै बोहराले यस्तो अवस्था एउटा परिवारको मात्र नभई धेरै प्रभावितको साझा पीडा भएको बताए।

बाढी तथा विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार, खोजी र राहत उपलब्ध गराउन सरकारको प्रभावकारी उपस्थिति आवश्यक रहेको उनले जोड दिए।

प्रकाशित: ३० भाद्र २०८३ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App