राजनीति

सुरुङ उद्धारमा सरकार चुक्यो, कांग्रेस अब प्रश्न गर्ने अवस्थामा आइपुग्यो: शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपत्तिको सामना गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताउँदै उद्धारमा भएको ढिलासुस्तीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारलाई केन्द्रित गर्दै स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा प्रतिष्ठानका प्रमुखसमेत रहेका शर्माले यस्तो बताएका हुन्।

उनले भोटेकोशी बाढीलगत्तै कांग्रेसले राष्ट्रिय एकताको नीतिअनुरूप सरकारलाई पूर्ण सहयोग गरे पनि सरकारको काम सन्तोषजनक नभएको सुनाए।

‘विपत्तिमा सरकारलाई सहयोग गर्नु कांग्रेसको धर्म हो, तर प्रतिपक्षी दलको हैसियतले कमजोरीमा सरकारलाई प्रश्न गर्नु पनि हाम्रो उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो,’ उपसभापति शर्माले भने, ‘अब कांग्रेस प्रश्न गर्ने अवस्थामा आइपुगेको छ। रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि तत्कालै दक्ष प्राविधिक परिचालन गर्नुपर्ने थियो, तर यसमा सरकारले पर्याप्त ध्यान दिन सकेन।’

शर्माले विपद्‌मा प्रभावित नागरिकको उद्धार गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै मानवताको भावनाले सबैलाई बचाउन सरकारले आवश्यक र दक्ष जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय जनप्रतिनिधिहरूलाई समेत आपसी समन्वय र सहयोगी भावनाका साथ विपद् व्यवस्थापनमा खटिन आग्रह गरे।

छलफलको सुरुमै रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला सभापतिहरूले बाढीपीडित र प्रभावित नागरिकले समयमै उद्धार र राहत पाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।

उक्त कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका निवर्तमान महासचिव वंशलाल तामाङसहित रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: १८ भाद्र २०८३ २२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App