अदालतबाट दश वर्ष कैद सजाय ठहर भएर झन्डै सात वर्षदेखि फरार एक अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी दोलखाका ४० वर्षीय खिलबहादुर तामाङलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
दोलखाको शैलुङ गाउँपालिका-४ स्थायी घर भएका तामाङलाई जिल्ला अदालत दोलखाले २०७४ पुस ४ गते दोषी ठहर गरेको थियो।
अदालतले उनलाई उक्त मुद्दामा १० वर्ष कैद र पीडित राहत कोषमा १ लाख १ सय ८९ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। फैसलालगत्तै उनी फरार भएका थिए।
लामो समयदेखि सजाय छल्दै आएका तामाङ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बौद्ध बेशीगाउँमा लुकेर बस्दै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरेको हो।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १० चैत्र २०८२ १५:१८ मंगलबार



