राजनीति

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल : पोल्यान्डका उपप्रधानमन्त्री र भुटानका प्रधानमन्त्रीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा उनीहरुबीच नेपाल-पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए । साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका थिए।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो।

नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।

प्रकाशित: ६ आश्विन २०८३ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App