राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै दस्तावेजको हुबहु फोटोकपी भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद शाहीले सरकारले नयाँपन दिनुको साटो विगतकै बुँदाहरू सारेर कर्मकाण्ड मात्र पूरा गरेको आरोप लगाए।
सांसद शाहीले रोष्टममा उभिएर दुईवटा दस्तावेज देखाउँदै भने, ‘मेरो हातमा दुईवटा किताब छन्। एउटा २०८१ सालको नीति तथा कार्यक्रम र अर्को २०८३ सालको। यी दुवै हुबहु एउटै छन्। ९० प्रतिशतभन्दा बढी बुँदाहरू जस्ताको तस्तै सारिएको छ। लेख्ने मान्छे एउटै परेपछि सायद यस्तो भएको होला।’
उनले नयाँ अनुहारका सांसदहरू र नयाँ पुस्ताको आगमनपछि नीति तथा कार्यक्रममा व्यापक सुधारको अपेक्षा गरिए पनि सरकारले निराशा मात्रै बाँडेको टिप्पणी गरे।
उनले राज्य सधैं शक्तिशालीको पक्षमा मात्रै उभिएको र निमुखा नागरिकको पीडा बुझ्न नसकेको भन्दै आक्रोश पोखे।
बागमती किनारमा १० दिनकी सुत्केरी महिलाको ओत भत्काइएको घटना र आफ्नो घर भत्किँदा हातमा झण्डा बोकेर आँसु झार्ने नाबालकको पीडाले राज्यको संवेदनहीनता छर्लङ्ग पारेको उनको तर्क थियो।
शाहीले भने, ‘राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नुपर्ने हो, तर यहाँ त सुत्केरीको ओत्भत्काउँदा पनि सरकारलाई पीडा महसुस भएन। के यही हो त हामीले चाहेको लोकतन्त्र ?’
उनले सरकारी संरचना जोगाउनुपर्ने पक्षमा आफू रहे पनि मानवीय संवेदनालाई कुल्चिएर गरिने विकास दिगो नहुने बताए।
प्रकाशित: २९ वैशाख २०८३ १६:२७ मंगलबार