राजनीति

हिमाली बस्तीका मतदान केन्द्रमा पुग्दै निर्वाचन टोली

ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा रहेका चारमध्ये दुई मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित शनिबारै सम्बन्धित केन्द्रमा पुग्ने भएका छन्। बाँकी दुई केन्द्रमध्ये घुन्साको टोली आइतबार र याङ्माको टोली ढिलोमा सोमबार बिहान सम्बन्धित केन्द्रमा पुग्नेछ।  

ग्याब्ला मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार घुन्सा र ग्याब्लाको मतदान टोली शनिबार ग्याब्लालाई आवास मुकाम ठानेर रहने छ । अम्जिलेसाबाट अघि बढीसकेको टोली शनिबार साँझसम्ममा ग्याब्ला पुग्ने कार्यक्रम रहेको गौतमले बताए । उनका अनुसार ग्याब्लाको टोली त्यही रहने छ भने घुन्साको टोली आइतबार बिहान घुन्सातर्फ लाग्ने छ ।  

ओलाङचुङगोला र याङ्मातर्फ लागेको टोली शनिबार साँझ ओलाङचुङगोला पुग्नेछ । ‘ट्याक्टर भेटेकोले ओलाङचुङगोला र याङ्मा जाने टोलीलाई थोरै राहत भयो,’ गौतमले भने । उनका अनुसार गोला र याङ्मा जाने टोलीमध्ये गोलाको टोली गोलामै बस्ने छ भने याङ्मा जाने टोली गोलाबाट आइतबार बिहान सम्बन्धित ठाउँका लागि प्रस्थान गर्नेैछ ।  

ओलाङचुङगोलाका लागि सिरिजङ्गा गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बे, याङ्माका लागि नेपाल बैंकमा कार्यरत माधव खड्का र घुन्साका लागि पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक देवेन्द्र मेन्याङ्वो मतदान अधिकृतको रुपमा खटिएका छन् ।  

भौगोलिक कठिनाई रहेको, अधिकांश क्षेत्रमा पैदलै जानु पर्ने अवस्था रहेको र मौसमका आएको बदलीका कारण पानी र हिमपात समेतले असर गर्ने देखेपछि जिल्ला निर्वाचन समन्वय समितिले ओलाङचुङगोला, याङ्मा, ग्याब्ला र घुन्सामा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र सुरक्षा निकायको टोलीलाई शुक्रबार बिहानै फुङलिङबाट सम्बन्धित केन्द्रतर्फ खटाएको थियो । ती क्षेत्रका मतपेटिका भने हेलिकोप्टरबाट मतगणनास्थल फुङलिङ ल्याइने छ। 

प्रकाशित: १६ फाल्गुन २०८२ १७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App