म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन्। उनले चुनावी अभियानमा २८ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।
बिहीबार उनले आयोगमा पेस गरिएको विवरणमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको उल्लेख छ पुनले सबैभन्दा बढी होटलको खाना र बासमा १३ लाख ७ हजार रुपैयाँभन्दा बढी खर्च भएको देखाएका छन्। यसैगरी, यातायात र मर्मतमा ६ लाख ६० हजार र डिजेलमा ३ लाख ६० हजार खर्च गरिएको छ।
साथै चालकलाई १ लाख ४० हजार ज्याला र प्रचारप्रसार सामग्रीमा २ लाख ९० हजार खर्च रुपैयाँ भएको उनले विवरणमा उल्लेख गरेका छन्।
यसबाहेक, उनले मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको विवरणमा देखाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको तुलनामा पुनको चुनावी खर्च धेरै देखिएको छ। शाहले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनको कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।
शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८२ १०:२३ शुक्रबार



