राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताएका छन्।
उनले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम भएको बताए। शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ।
नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो’, राष्ट्रपति पौडेलले भने।
सूचना प्रविधिको द्रुत विकास भइरहेको आधुनिक युगमा नेपालको शैक्षिक प्रणालीले भविष्यमा आवश्यक पर्ने जनशक्तिबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा उनले जोड दिए।
‘सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र नेपाल निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीले पहिल्याउनुपर्छ’, उनले भने।
प्रकाशित: १७ आश्विन २०८३ १८:१२ शनिबार



