प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकलाई पूरा समय दिन नसक्ने अवस्था देखिएपछि स्थगन भएको छ। भदौ १३ गतेका लागि तोकिएको बैठक प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिकालाई ध्यानमा राखेर स्थगन गरिएको हो।
अध्यक्ष ओली बैठकमा नहुँदा निर्णयहरू प्रभावित हुन सक्ने र असन्तुष्ट समूह (विद्या भण्डारी) लाई बल पुग्ने गरी छलफल हुन सक्ने आशंकामा केन्द्रीय कमिटीको बैठक रोकिएको एमालेका एक पदाधिकारीले बताए। ‘बैठक सुरु भएपछि नसकिँदै अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानुपर्ने भएपछि स्थगन गरिएको हो। बैठक चल्दाचल्दै अन्त्य गर्न पनि मिल्दैनथ्यो। कार्यवाहक अध्यक्षले बैठक चलाउँदा असन्तुष्ट पक्षलाई बल पुग्ने गरी छलफल र निर्णय हुन सक्ने भयले स्थगन गरिएको हो,’ ती पदाधिकारीले भने।
ती पदाधिकारीका अनुसार अघिल्लो बैठकमा नोट अफ डिसेन्ट लेख्न नपाएका, आफ्नो धारणा राख्न नपाएकाहरूले समेत बैठकमा आफ्ना धारणा राखेर विधान महाधिवेशनमा लिएर जाने खतरा देखिएपछि अध्यक्ष ओलीकै चाहनामा बैठक स्थगन गरिएको हो।
अध्यक्ष ओली चीन भ्रमणमा गएपछि कार्यवाहक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउने थिए। पोखरेल यतिबेला पूर्वराष्ट्रपति विद्या भण्डारीको अजेन्डालाई स्थापित गर्ने प्रमुख व्यक्तिका रूपमा अघि देखिएका छन्। पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने अडान राखेका छन्। अघिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। जसले गर्दा अहिले एमालेभित्र ओली–भण्डारीका नाममा ठुलै गुटबन्दी चलिरहेको छ।
विधान महाधिवेशनको तयारीको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भए पनि गुटबन्दीलाई ध्यानमा राखी अध्यक्ष ओलीको चीन भ्रमण कारण देखाएर बैठक स्थगित गरिएको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदै छन्।
भदौ १३ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक स्थगन भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। ‘सुझावहरू आउने क्रम जारी रहेको र ती सुझावलाई एकत्रित गर्ने काम सम्पन्न नहुने भएकाले अर्को मिति घोषणा नहुँदासम्म केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ,’ गौतमले नागरिकसँग भने। तर उनले प्रधानमन्त्रीको चीन भ्रमणकै कारण केन्द्रीय कमिटीको बैठक स्थगित नभएको बताए। ‘डकुमेन्टेसनको काम सकिएको छैन,’ गौतमले भने। सुझाव संकलन गर्ने काम काम भइरहेको उनको भनाइ छ।
एमालेका अर्का एक पदाधिकारीका अनुसार अध्यक्ष ओली १८ गते राति मात्रै चीनबाट स्वदेश फर्कने कार्यतालिका छ। महाधिवेशन कार्यतालिकाअनुसार अध्यक्ष ओली चीनबाट फर्केपछि केन्द्रीय कमिटीको बैठक बस्ने सम्भावना निकै न्यून छ। ‘विधान महाधिवेशनको मिति तय भइसकेको छ। पछाडि नधकेलेको अवस्थामा केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना छैन। सचिवालय बैठक राखेर सिधै विधान महाधिवेशनमा जाने अवस्था छ,’ ती पदाधिकारीले भने।
ती पदाधिकारीका अनुसार विधान संशोधनको विषय अघिल्लो केन्द्रीय कमिटीबाटै टुंगिएका कारण सचिवालय बैठकमा सामान्य छलफल हुनेछ। राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र सांगठनिक अवस्थाबारे प्रतिवेदन लेख्ने काम भइरहेको र विधान महाधिवेशन र पार्टीको नीतिगत सुधारका बारेमा मातहत कमिटीबाट आउने सुझाव पनि संकलन गर्ने काम जारी रहेकाले सचिवालय बैठकमा छलफल गरी टुंग्याउने तयारी रहेको छ। ‘अघिल्लो केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा सम्बोधन नभएको भन्दै ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत केही नेताले धारणा सार्वजनिक गरेका छन्। ती विषयमा पदाधिकारी बैठकले टुंगो लगाउनेछ,’ ती पदाधिकारीले भने।
विधान महाअधिवेशनको तीव्र तयारी भइरहेको छ। भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हुनेछ। त्यसअघि एमालेको सबै तहको बैठक बसिसक्नुपर्ने भएकाले १३ गतेलाई केन्द्रीय कमिटीको बैठक तय गरिएको थियो। तर सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को आयोजनामा चीनमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो आइसकेको र त्यसमा भाग लिन भदौ १४ गते त्यसतर्फ जाने कार्यतालिका रहेको छ। ‘अध्यक्ष चीन जाने कार्यक्रम अघि नै केन्द्रीय कमिटी बैठक र विधान महाधिवेशनको मिति तय भएको थियो। त्यही भएर केन्द्रीय कमिटी बैठकलाई स्थगन गर्नुपरेको हो। विधान महाधिवेशनको मिति भने सर्दैन,’ एक पदाधिकारीले भने।
यसैबिच विधान महाधिवेशनको नारा तय भएको छ। एमाले प्रचार विभाग प्रमुख गौतमका अनुसार विधान महाधिवेशनका लागि तय भएके नारा हो– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’। ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशभरबाट दुई हजार एक सय २८ जना प्रतिनिधि र दुई सय ६४ जना आयोजक गरी कुल दुई हजार तीन सय ९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८२ ०६:३८ बुधबार