राजनीति

प्रहरीले भन्यो- बालबालिकाको पीडा बेचेर ‘कन्टेन्ट’ नबनाउनू

भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद् र दुर्घटनामा परेका बालबालिकाको रुवाबासी र असहाय अवस्थाको भिडियो भाइरल बनाएर चन्दा उठाउने प्रवृत्तिप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रहरीले विपद्‌मा परेका बालबालिकाको पहिचान खुल्ने गरी कुनै पनि तस्बिर तथा भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

बालबालिकाको गोपनीयता, आत्मसम्मान र मनोवैज्ञानिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्ने भएकाले उनीहरूको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण र अनुहार चिनिने कुनै पनि विवरण सार्वजनिक नगर्न प्रहरीले सचेत गराएको छ।

यदि सार्वजनिक गर्नैपरे आवश्यक अवस्थामा पहिचान लुकाउने व्यवस्था मिलाउन भनिएको छ।

पछिल्लो समय विपद् प्रभावित बालबालिकालाई रोइरहेको वा असहाय अवस्थामा देखाएर सहानुभूति बटुल्ने र आर्थिक सहयोग जुटाउने उद्देश्यले भिडियो भाइरल गर्ने होडबाजी नै चलेको छ।

यस्तो कार्यले बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने भन्दै प्रहरीले यस्ता सामग्री नबनाउन भनेको छ। साथै, मानसिक रूपमा विक्षिप्त भएका बालबालिकासँग भ्युजका लागि पटक-पटक अन्तर्वार्ता लिएर घटना सम्झन बाध्य पार्ने र पीडा प्रदर्शन गर्ने काम नगर्न सञ्चारमाध्यम र कन्टेन्ट क्रिएटरहरूलाई आग्रह गरिएको छ।

प्रहरीले जारी गरेको ७ बुँदे निर्देशनमा विपद्को समयमा फोटो वा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख छ। अनुमति र संवेदनशीलताविना बालबालिकाका तस्बिर र भिडियो सम्पादन गर्ने, मीम बनाउने वा जथाभावी सेयर, रिपोस्ट र फरवार्ड गर्ने कार्यले उनीहरूको अहित हुने प्रहरीको ठहर छ।

नेपाल प्रहरीले प्रचलित कानुन, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ को पूर्ण पालना गर्न सम्पूर्ण सरोकारवालालाई अपिल गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जारी गरेको विज्ञप्तिको अपिल गर्दै भनिएको छ, ‘बालबालिकाको पीडालाई प्रचारको होइन, संरक्षण र सहयोगको विषय बनाऔं।’

प्रकाशित: १८ भाद्र २०८३ २२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App