नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टी एकता र आन्तरिक संवादलाई प्राथमिकता दिनुपर्नेमा नेताहरूले जोड दिएका छन् । विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक अघि बढेमात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सकिने उनीहरूको भनाइ छ ।
कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको समूहगत दूरीलाई संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए । कुनै समूह अलग हुने अवस्था आए पनि त्यसको समाधान वार्ताबाहेक अन्य माध्यमबाट हुन नसक्ने उनको भनाइ छ ।
‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । कुनै समूह छुट्टिन्छ भने पनि वार्तामार्फत मूल बाटोमा उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ,’ उनले भने, ‘१५औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण छ । यसले पार्टीको मात्र होइन, नेपालको राजनीतिको भविष्यको दिशासमेत निर्धारण गर्छ ।’
पार्टीभित्र केही नेताहरूले आफ्ना माग सम्बोधन भइसकेकाले अब एकतामा आउनुपर्ने तर्क गरिरहेको विषयमा महतले त्यसलाई एकतर्फी रूपमा व्याख्या गर्न नमिल्ने बताए । आफूहरूले पटक–पटक वार्ताका लागि आग्रह गरेको दाबी गर्दै उनले गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूसँग समेत संवादको प्रयास गरिएको बताए ।
‘हामीले धेरैपटक एकताबद्ध भएर जाऔँ, वार्तामा आउनुस् भनेर आग्रह गरेका छौँ । उहाँहरूले सुन्नुभएन भने हामीले के गर्ने ?’ उनले प्रश्न गरे ।
समय माग्दा भेट नदिएको भन्ने आरोपबारे उनले सम्बन्धित नेता व्यस्त भएका कारण भेट हुन नसकेको हुन सक्ने बताए । ‘सायद उहाँ व्यस्त हुनुहुन्थ्यो होला । नभेट्ने भन्ने कुरा चाहिँ होइन,’ उनले स्पष्ट पारे ।
यसैगरी, अर्का एक नेताले विपक्षी समूहबाट गम्भीर सहमतिको प्रयास नभएको आरोप लगाए । सम्बन्धित पक्षले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार गरे पनि ठोस रूपमा सहमतिको पहल नगरेको उनको दाबी थियो ।
उनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विशेष अधिवेशनमा सहभागी गराउने विषयमा गरिएको प्रस्तावप्रति समेत असन्तुष्टि जनाए ।
‘३ गतेको वडा अधिवेशनमा तपाईंहरू सहभागी हुन आउनुभयो भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व, जो अहिले बाहिर छ, उहाँहरूलाई विशेष अधिवेशनमा सहभागी हुने मौका दिइनेछ भन्ने प्रस्ताव आएको छ । योभन्दा अपमानजनक कुरा के हुन सक्छ ?’ उनले प्रश्न गरे ।
नेपाली कांग्रेस केवल पद र केन्द्रीय सदस्यको हैसियत देखाउने संस्था नभएको उल्लेख गर्दै उनले पार्टीको ऐतिहासिक मूल्य, मान्यता र संस्कार जोगाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस बीपी कोइरालाजस्तो दूरदर्शी नेतृत्वले स्थापना गरेको पार्टी भएकाले यसको राजनीतिक संस्कार र वैधानिक प्रक्रियालाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।
‘हामी केन्द्रीय सदस्य भयौँ भनेर देखाउनका लागि मात्रै यो पार्टीमा लागेका होइनौँ । यसको मूल्य र मान्यता छ, संस्कार छ,’ उनले भने, ‘ती संस्कारलाई तिलाञ्जली दिएर “भइसक्यो” भन्दै सबै कुरा समाधान हुन्छ भन्ने सोच्नु स्वाभिमानी पार्टीका साथीहरूका लागि स्वीकार्य हुन सक्दैन ।’
नेताहरूले पार्टीभित्रको विवादलाई थप जटिल बनाउनुभन्दा संवाद, सहमति र एकताको माध्यमबाट १५औँ महाधिवेशनलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित: २९ भाद्र २०८३ १६:३६ सोमबार



