राजनीति

देउवाले भने- सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको वैधानिकता र आधिकारिकताको विवादमा आफूहरूले सर्वोच्च अदालतबाट पूर्ण न्याय पाउने दाबी गरेका छन्।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो पक्षलाई ‘निस्सा’ दिएलगत्तै पूर्वसभापति देउवाले आफू नै वैधानिक नेतृत्व रहेको जिकिर गर्दै गगन समूहले तत्कालीन समयमा बोलाएको विशेष अधिवेशन अवैधानिक हुने तर्क गरे।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३औँ बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीको मूल नेतृत्वलाई बाइपास गरेर गरिएको गतिविधि अवैधानिक हुने बताएका हुन्।

देउवाले भने, ‘सभापति म हुँ, मलाई थाहै नदिई विशेष अधिवेशन बोलाउन पाइन्छ ? अधिवेशन पार्टीले पो बोलाउने हो, मलाई थाहै छैन, यसरी अधिवेशन बोलाउन पाइन्छ ?’

गोष्ठीमा सहभागी कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विनोद कायस्थ र सुरेन्द्र श्रेष्ठलगायतले कांग्रेसको एकता जोगाउन विधानसम्मत नियमित महाधिवेशनको प्रक्रियामा जानुको विकल्प नरहेको बताएका थिए।

सोही कार्यक्रममा पूर्वसभापति देउवाले रसुवास्थित भोटेकोशी नदीको बाढी प्रभावितहरूको उद्धार तथा राहत कार्यमा तत्काल लाग्न सरकारसँग माग गरे।

प्रकाशित: २४ भाद्र २०८३ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App